काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले गाँजा खेती गर्न कानुन बनाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधसभा बैठकमा बोल्दै सांसद राईले गाँजा खेतीलाई यसअघि नै मान्यता दिइएको भए अर्थतन्त्र सुदृढ भइसक्ने बताउदा तत्काल गाँजा खेती सम्बन्धि कानुन बनाउन माग गरेका हुन् ।
उनले भने- 'गाँजा खेतीको कानुन बनाऊँ । विधिसम्मत सञ्चालनको वातावरण बनाउनका निम्ति आग्रह गरेको थिए । सरकारले सुनेन । विश्व स्वास्थ्य संगठनले गाँजा लागु औषध नभएको भन्दै सो सूचीबाट हटाएको उल्लेख गर्दै उनले विश्वका ६२ देशमा गाँजा खेती भइरहेको र उनीहरुको आर्थिक अवस्था राम्रो भएको दाबि गरे ।
गाँजा खेतीबारे गण्डकी प्रदेश सरकारले कानुन बनाउदा त्यहाँका जनता उत्साही भएको बताउदै गाँजा खेतीको कानुन बनाउन आग्रह गरे । गाँजा खेतीलाई व्यावसायिक बनाउन सके रोजगार बढ्ने, अर्थतन्त्र बलियो हुने र विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै गाँजा खेतीबाट जुत्ता र लुगा समेत बनाउन सकिने उल्लेख गरे । उनले संसदमा एक सांसदले गाँजाबाटै बनाइएको कपडा लगाएर संसद् बैठकमा आउने गरेको उल्लेख गर्दै कपडा लगाउन हुने, गाँजा खेती गर्न किन नहुने भन्दै प्रश्न गरेका छन् ।









