• २०८३ श्रावण ३१ आइतबार

पोखरा महानगरमा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुर्‍याउने अभियान शुरु हुदै

पोखरा महानगरमा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुर्‍याउने अभियान शुरु हुदै

पोखरा । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजनाअनुसार नगरवासीलाई विद्युतीय चुलो वितरण गर्ने अभियान सुरु गर्ने भएको छ । महानगरका २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलोको पहुँच पुर्‍याउने लक्ष्यसहित सोमबार वडा नम्बर २२ बाट अभियान सुरु गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

पहिलो चरणमा वडा नम्बर २२ का करिब २ सय परिवारलाई विद्युतीय चुलो वितरण गरिनेछ । वडा अध्यक्ष हिमलाल बरालका अनुसार कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलका बासिन्दालाई चुलो वितरण गरिनेछ । अभियानअन्तर्गत वडामा दुई हजारभन्दा बढी चुलो वितरण गर्ने लक्ष्य रहेको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सुरु हुने अभियानले खाना पकाउने ग्यासको निर्भरता घटाउन र ग्यास अभावका बेला नगरवासीलाई राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

पोखराको नगर ऊर्जा योजनाले सन् २०२९ सम्म महानगरका २५ प्रतिशत घरमा विद्युतीय चुलोको पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, विन्डपावर नेपाल र युरोपेली संघको सहयोगमा योजना तयार गरिएको हो । महानगरले विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य राखेको छ । हाल पोखरामा खाना पकाउन प्रयोग हुने इन्धनमध्ये एलपी ग्यासको हिस्सा ८४.२५ प्रतिशत, दाउराको १०.२७ प्रतिशत, बायोग्यासको ५.२५ प्रतिशत र विद्युतको हिस्सा ०.२३ प्रतिशत मात्र रहेको छ ।

घरायसी क्षेत्रमा एलपी ग्यासको निर्भरता ९८.४५ प्रतिशत रहेको छ । दाउराको प्रयोग वडा नम्बर २८ मा सबैभन्दा बढी ६९.४२ प्रतिशत र वडा नम्बर ९ मा सबैभन्दा कम ०.६२ प्रतिशत रहेको महानगरको तथ्यांक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै