• २०८३ श्रावण ३० शनिबार

रणवीर कपुरको ‘रामायण’ चीनमा नयाँ नाममा रिलिज हुने

रणवीर कपुरको ‘रामायण’ चीनमा नयाँ नाममा रिलिज हुने

काठमाडौँ । अभिनेता रणवीर कपुर अभिनीत चलचित्र ‘रामायण’ चीनमा पनि प्रदर्शन हुने भएको छ ।

निर्देशक नितेश तिवारीको यो चलचित्र चीनमा फरक नामबाट प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । करिब एक दशकअघि नितेश तिवारीकै ‘दंगल’ ले चिनियाँ दर्शकमाझ राम्रो प्रभाव पारेपछि ‘रामायण’ ले पनि चीनको ठूलो चलचित्र बजारमा प्रवेश गर्न लागेको हो ।

चीनमा चलचित्रको नाम ‘द लेजेन्ड अफ प्रिन्स’ राखिने सम्भावना रहेको चर्चा चलेको छ। चीनमा चलचित्र वितरणको जिम्मेवारी सोनी पिक्चर्सले लिने अपेक्षा गरिएको छ ।

चलचित्र निर्माण पक्षले चीनमा प्रदर्शनअघि प्रचारप्रसारका कार्यक्रमसमेत गर्ने तयारी गरेको बताइएको छ । निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्राले सेप्टेम्बर २४ मा पिङयाओ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पत्रकार सम्मेलन तथा चलचित्र प्रदर्शन गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताइएको छ । त्यसपछि अक्टोबर १ देखि सुरु हुने चीनको स्वर्णिम साता अवधिमा विभिन्न सहरमा प्रचार कार्यक्रम गर्ने तयारी रहेको जनाइएको छ ।

‘रामायण’ को अन्तर्राष्ट्रिय प्रदर्शन नोभेम्बर ६ का लागि तय गरिएको छ भने भारतमा नोभेम्बर ८ अर्थात् दीपावलीको आसपास प्रदर्शन गर्ने तयारी छ । अन्तर्राष्ट्रिय र भारतमा फरक मितिमा प्रदर्शन गर्नुको कारणबारे निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय बजारमा शुक्रबार चलचित्र प्रदर्शन गर्ने चलनअनुसार नोभेम्बर ६ रोजिएको र भारतमा दीपावलीलाई लक्षित गरिएको बताएका छन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसले दर्शकमाझ ठूलो चासो सिर्जना गरेको छ । केही दर्शकले चलचित्रको भव्यता र द्वन्द्वका दृश्यको प्रशंसा गरेका छन् भने केहीले कम्प्युटरबाट तयार गरिएका दृश्यको गुणस्तरमाथि प्रश्न उठाएका छन्। रणवीरले चलचित्रका दृश्यलाई कृत्रिम बुद्धिमत्ताबाट बनाइएको भन्दै गरिएको टिप्पणीलाई लिएर प्रतिक्रिया दिँदै यस्तो आलोचना केही रमाइलो लागेको बताएका छन् । उनले चलचित्रमा कलाकार तथा प्राविधिक टोलीले धेरै वर्षदेखि गरेको मेहनततर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

नितेश तिवारीको निर्देशनमा बन्न लागेको ‘रामायण’ महर्षि वाल्मीकि रचित महाकाव्यमा आधारित दुई भागको चलचित्र हो । रणवीर कपुरले भगवान् राम, यशले रावण र साई पल्लवीले सीताको भूमिका निर्वाह गरेका छन्। चलचित्रमा सनी देओल, रवि दुबे, अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह, विवेक ओबेरोय र कुणाल कपुरलगायत कलाकारको पनि अभिनय रहेको छ । यसको दोस्रो भाग सन् २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै