पोखरा । कास्की र पर्वत भएर बग्ने मोदी खोलामा राति आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित तमु चोक आसपास सडकको बेसै बगाएको छ भने आसपासका धेरै घर तथा बस्ती जोखिममा परेका छन् ।
बाढीका कारण नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डको वीरेठाँटी नजिकैको सडक पूर्ण रूपमा बगेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । पछिल्लो समय लगातारको वर्षासँगै आएको बाढी र पहिरोले उक्त सडकखण्डका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ ।
यसैबीच, अविरल वर्षापछि मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका-६ हाईजुङस्थित मन्दिरमा बाढी आएपछि पुजारीसहित तीन जना फसेका थिए। उनीहरूलाई उद्धार गरिएको हो ।
बाढीका कारण विद्युत् प्रसारणमा समेत असर परेको छ । मोदी विद्युत् उपकेन्द्रदेखि कुश्मा विद्युत् उपकेन्द्र जाने ३३ हजार भोल्टको प्रसारण लाइनअन्तर्गत पातीचौरमा मोदी खोलाले पोल बगाएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । हाल दाना विद्युत् उपकेन्द्रबाट वैकल्पिक प्रसारण लाइनमार्फत कुश्मा विद्युत् उपकेन्द्रतर्फ विद्युत् आपूर्ति सञ्चालन गरिएको जनाइएको छ ।






2026-08-14-10-49-09_1000x533_50.webp)


