काठमाडौँ । सिरियाको एक अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल असद र उनका भाइ माहेर अल असदलाई युद्ध अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ ।
उनीहरू दुवैको अनुपस्थितिमा फैसला सुनाइएको हो । सिरियामा करिब १४ वर्ष चलेको द्वन्द्वका क्रममा भएका युद्ध अपराधमा उनीहरू दोषी ठहरिएका हुन् । उक्त द्वन्द्वमा करिब ५ लाख मानिसको मृत्यु भएको बताइएको छ ।
सोही मुद्दामा बसर अल असदका भाई पर्ने आतिफ नजीबलाई पनि मृत्युदण्ड सुनाइएको छ । उनीमाथि सन् २०११ मा दक्षिणी सिरियाको दारा प्रान्तमा सरकारको दमनकारी कारबाहीको नेतृत्व गरेको आरोप थियो । त्यही घटनापछि सुरु भएको विद्रोह विस्तार हुँदै गृहयुद्धमा परिणत भएको थियो ।
कडा सुरक्षा व्यवस्थाबीच अदालतमा नजीबलाई कारागारको पोसाकमा पिँजडाभित्र राखिएको थियो । अदालतले त्यहीँ उनलाई सजाय सुनाएको हो। नजीब सिरियाली सेनाका पूर्व ब्रिगेडियर जनरल हुन् र सन् २०११ मा दारामा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । सिरियामा असद परिवारले करिब पाँच दशक शासन गरेको थियो। हाफेज अल असदपछि उनका छोरा बसर अल असदले लामो समय सत्ता सम्हालेका थिए ।
सन् २०११ मा अरब क्षेत्रमा फैलिएको जनविद्रोहको प्रभावमा सिरियामा पनि बसर अल असदको सरकारविरुद्ध आन्दोलन सुरु भएको थियो । सरकारी दमनपछि आन्दोलन लामो र रक्तपातपूर्ण गृहयुद्धमा परिणत भएको थियो ।
सिरियाली मानवअधिकार अनुगमन संस्थाका अनुसार उक्त द्वन्द्वमा ५ लाखभन्दा बढी मानिस मारिएका छन् । विद्रोहीहरू दमास्कस प्रवेश गरेपछि सन् २०२४ को डिसेम्बरमा बसर अल असद र उनका भाइ माहेर रुस भागेका थिए । त्यसपछि पक्राउ परेका आतिफ नजीबविरुद्ध मुद्दा चलाइएको थियो ।









