• २०८३ श्रावण २६ मंगलबार

विश्वका महासागर जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो: जलवायु संकटको अर्को संकेत

विश्वका महासागर जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो: जलवायु संकटको अर्को संकेत

काठमाडौँ । विश्वका महासागरले गत जुलाईमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेका छन् । प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको प्रभावसँगै बढ्दो विश्वव्यापी तापक्रमले समुद्रको तापक्रम बढाउन भूमिका खेलेको युरोपेली सङ्घको जलवायु निगरानी सेवाले जनाएको छ ।

ध्रुवीय क्षेत्रबाहेक ६० डिग्री उत्तरदेखि ६० डिग्री दक्षिण अक्षांशसम्मको समुद्री सतहको औसत तापक्रम जुलाईमा २०.९६ डिग्री सेल्सियस पुगेको थियो । यसअघि सन् २०२३ मा २०.८९ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड भएको थियो ।

युरोपेली जलवायु परिवर्तन सेवाका अनुसार गत जुलाई विश्वभर रेकर्ड गरिएको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई रह्यो । औद्योगिक युग सुरु हुनुअघिको औसत तापक्रमको तुलनामा जुलाईको विश्वव्यापी तापक्रम १.४७ डिग्री सेल्सियस बढी थियो।

पश्चिमी युरोपले पनि जुन र जुलाईमा अहिलेसम्मकै असाधारण गर्मी सामना गरेको छ । जुन र जुलाईमा पश्चिमी युरोपको औसत तापक्रम २१.६२ डिग्री सेल्सियस रह्यो, जुन औसतभन्दा २.७९ डिग्री सेल्सियस बढी हो । दुई महिनाको अवधिका लागि यो अहिलेसम्मकै उच्च तापक्रम हो ।

लगातार कायम रहेको उच्च वायुदाबका कारण गर्मी पश्चिमी युरोपमा थुनिएको र माटोमा चिस्यान कम हुँदा प्राकृतिक रूपमा तापक्रम घट्ने क्षमता कमजोर भएको र जलवायु परिवर्तनका कारण गर्मी र खडेरी एकअर्कालाई थप तीव्र बनाउँदै गएको युरोपेली सङ्घको जलवायु निगरानी सेवाले उल्लेख गरेको छ ।

फ्रान्स, स्पेन, जर्मनीका केही भाग र बेलायतमा वर्षा तथा माटोको चिस्यान असाधारण रूपमा कम भएको छ । पश्चिमी युरोपका धेरै क्षेत्रमा सन् २०२२ को गम्भीर खडेरीको समयभन्दा पनि माटोको चिस्यान कम रहेको जनाइएको छ । सेन, राइन र डेन्युब नदीसहित धेरै नदीमा पानीको सतह औसतभन्दा निकै तल पुगेको छ । यसले खानेपानी, सिँचाइ, जलचर पारिस्थितिक प्रणाली, नदी यातायात तथा ऊर्जा उत्पादनमा थप दबाब सिर्जना गरेको छ ।

लामो समयदेखि जारी तातो र सुख्खा मौसमका कारण पश्चिमी युरोपमा डढेलोका लागि अनुकूल अवस्था बनेको छ । गत जुलाईमा ठूलो क्षेत्र डढेलोबाट प्रभावित भएको र जलेको क्षेत्र, धुवाँ तथा वायुमण्डलमा पुगेको प्रदूषणको मात्रा असाधारण रहेको युरोपेली जलवायु निगरानी सेवाले जनाएको छ ।

युरोपेली वायुमण्डलीय निगरानी सेवाका अनुसार जलवायु परिवर्तनले दक्षिणी युरोपमा ठूलो र तीव्र डढेलो लाग्ने तातो तथा सुख्खा अवस्था बढाइरहेको छ भने डढेलोको अवधि उत्तरी क्षेत्रमा समेत विस्तार भइरहेको छ । ठूला डढेलोबाट धेरै धुवाँ निस्कने र धुवाँ वायुमण्डलको माथिल्लो तहसम्म पुग्ने भएकाले लामो दूरीसम्म फैलिन सक्छ । त्यसका कारण सामान्यतया डढेलो कम लाग्ने देशसमेत टाढाबाट आएको धुवाँबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

बेलायतमा यो साता वर्षकै पाँचौँ गर्मीको लहर आउने सम्भावना रहेको छ । लामो समयदेखि पानी नपरेपछि पानीको स्रोतमा दबाब बढेको छ र थप क्षेत्रमा आधिकारिक रूपमा खडेरी घोषणा हुन सक्ने चेतावनी दिइएको छ । मौसम कार्यालयका अनुसार इङ्ल्यान्ड र वेल्समा गत जुलाई १९० वर्षअघि अभिलेख राख्न सुरु भएयताकै सबैभन्दा सुख्खा जुलाई बनेको छ । इङ्ल्यान्डका ठूलो भूभाग र सम्पूर्ण वेल्समा यसअघि नै खडेरी घोषणा भइसकेको छ । वातावरण निकायले सुख्खा अवस्था जारी रहेमा इङ्ल्यान्डका थप क्षेत्रमा खडेरी घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।

बेलायतको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनले विगतमा असाधारण मानिएको मौसम अहिले ‘नयाँ सामान्य अवस्था’ बन्दै गएको जनाएको छ । दक्षिणी इङ्ल्यान्डमा वर्षको सबैभन्दा तातो दिनको तापक्रम सन् १९६१ देखि १९९० सम्मको तुलनामा अहिले ४ दशमलव ५ डिग्री सेल्सियस बढी पुगेको प्रतिवेदनमा उल्लेख छ ।

मौसम कार्यालयका जलवायु वैज्ञानिक माइक केन्डनले विश्व अहिले ऐतिहासिक र अभूतपूर्व परिवर्तनको समयमा रहेको बताएका छन् । उनका अनुसार २०औँ शताब्दीमा देखिएको जलवायु अवस्था अब परिवर्तन भइसकेको छ ।

महासागरले हरितगृह ग्यासका कारण उत्पन्न अतिरिक्त तापको ठूलो हिस्सा सोस्ने र पृथ्वीमा आवश्यक अक्सिजनको करिब आधा उत्पादन गर्ने भएकाले जलवायु प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन् । तर समुद्रको तापक्रम बढ्दा समुद्री सतह बढ्ने जोखिम हुन्छ। समुद्री पानी तात्दा फैलिने भएकाले वैज्ञानिकहरूले अहिलेसम्म मापन गरेको समुद्री सतह वृद्धिको करिब एक तिहाइ हिस्सा पानीको तापीय विस्तारका कारण भएको मानिन्छ । यसले समुद्री तट र तल्लो भूभागमा रहेका देश तथा टापुहरूलाई थप जोखिममा पार्छ ।

तातो समुद्रका कारण लामो समयसम्म रहने र बढी शक्तिशाली समुद्री गर्मीको लहरसमेत बढिरहेका छन् । यसले समुद्री वनस्पति र माछाको स्रोतमा गम्भीर असर पारेको देखिएको छ । समुद्रको सतह तात्दा वायुमण्डलमा थप ताप र जलवाष्प पुग्छ । यसले उष्णकटिबन्धीय आँधीलाई थप शक्तिशाली बनाउनुका साथै भारी वर्षाको सम्भावना बढाउछ ।

प्रशान्त महासागरको उष्ण क्षेत्रमा समुद्री सतहको तापक्रम जुलाईमा पनि असाधारण रूपमा उच्च रह्यो । त्यहाँ एल निनोको अवस्था विकसित भइरहेको छ र आगामी महिनामा यो अझ बलियो हुने अनुमान गरिएको छ । एल निनो प्रशान्त महासागरमा स्वाभाविक रूपमा देखिने मौसमी अवस्था हो । तर मानव गतिविधिका कारण बढिरहेको विश्वव्यापी तापक्रमसँग यसको प्रभाव जोडिँदा विश्वको तापक्रम छोटो अवधिका लागि अझ बढ्न सक्छ र चरम मौसमका घटना तीव्र हुन सक्छन् ।

वैज्ञानिकहरूका अनुसार अहिले विश्वको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतिरको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढी भइसकेको छ । जीवाश्म इन्धनको निरन्तर प्रयोगबाट बढिरहेको मानवीय कारणको तापसँगै एल निनोको प्रभाव थपिँदा आगामी समय विश्वका लागि अझ तातो बन्न सक्ने चेतावनी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै