काठमाडौँ । स्कटल्यान्ड क्रिकेट र नेदरल्यान्ड्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पुरुष एकदिवसीय विश्वकपको छनोट प्रक्रिया र प्रतियोगिता संरचनामा गरेको ठूलो परिवर्तनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
दुवै क्रिकेट संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा संरचना परिवर्तन गर्नु एसोसिएट सदस्य राष्ट्रका लागि अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले यसबाट उदीयमान क्रिकेट राष्ट्रलाई विश्वकपमा पुग्ने अवसर घट्ने र विश्व क्रिकेट विस्तार गर्ने प्रयासमा असर पर्ने बताएका छन् ।
दुवै संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाउँदै यस्ता महत्वपूर्ण निर्णय गर्नुअघि सम्बन्धित सदस्य राष्ट्रसँग पर्याप्त छलफल र परामर्श हुनुपर्ने बताएका छन् । छोटो समयको सूचनामा छनोट संरचना परिवर्तन गर्दा खेलाडीको तयारी, आर्थिक योजना तथा अन्य व्यवस्थापनमा समस्या पर्ने उनीहरूको भनाइ छ ।
परिवर्तनको घोषणापछि स्कटल्यान्ड, नेदरल्यान्ड्स र अन्य एसोसिएट सदस्यले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग दुई पटक छलफल गरेका थिए । उनीहरूले लिखित जानकारी, निर्णय प्रक्रियाबारे स्पष्टता तथा भविष्यमा सदस्य राष्ट्रसँग प्रभावकारी छलफलको माग गरेका थिए । तर दोस्रो छलफल भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि परिषद्बाट थप प्रतिक्रिया नआएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
स्कटल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपमा सहभागी हुने अवसरले एसोसिएट राष्ट्रमा लगानी बढाउन, खेलाडीलाई प्रेरित गर्न, व्यावसायिक साझेदार आकर्षित गर्न तथा क्रिकेटको लोकप्रियता विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा एसोसिएट राष्ट्रले स्थापित टोलीलाई चुनौती दिएका तथा पराजित गरेका क्षणहरू विश्व क्रिकेटका महत्वपूर्ण उपलब्धि भएको स्मरण गराउँदै खेलाडीको मेहनतको सम्मान गर्न आग्रह गरेका छन् ।
दुवै संस्थाले विश्व क्रिकेटलाई वास्तविक रूपमा विश्वव्यापी बनाउन उदीयमान राष्ट्रलाई ठूला प्रतियोगितामा छनोट हुने र प्रतिस्पर्धा गर्ने पर्याप्त तथा निष्पक्ष अवसर दिनुपर्ने बताएका छन् । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई एसोसिएट सदस्यसँग पुनः छलफल गरी सबै सदस्यको हित हुने दीर्घकालीन योजना बनाउन आग्रह गरेका छन् ।









