काठमाडौँ । ब्याडमिन्टनकै प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको लिनिङ १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ ।
नेपाल खेलकुद महासंघको आयोजना एवं यल स्पोर्टस् एकेडेमीको सहआयोजनामा भएको प्रतियोगिताको नेकपा एमाले संगठन प्रमुख एवं पूर्वमन्त्री भानुभक्त ढकालले एक कार्यक्रमविच पानसमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गरेका छन् ।
ग्वार्को स्थित सहआयोजकको कभर्डहलमा भएको प्रतियोगिताको पहिलो दिन शिर्ष ८ बरियता पुरुषबीच भएको लिगको समूह ए तर्फको पहिलो खेलमा बिश्व जुनियर एक रहिसकेका राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स दाहाल पराजित भएका छन् ।
एपिएफका दाहाल एपिएफका क्षितिज खनालसँग २-१ सेटमा पराजित भएका हुन् । पहिलो सेट १६–२१ ले पछाडी परेका दाहाल खेलमा फर्कदै दोश्रो सेट २१–१३ ले आफ्नो पक्षमा पार्न सफल भएता पनि तेश्रो तथा निर्णायक सेटमा पुनः १६–२१ ले पछि पर्दै पराजित हुन पुगेका थिए । समूह ए कै पुरुषको अर्को खेलमा पुलिसका सुनिल जोशीले पहिलो जित निकाले । जोशीले पुलिसकै जीवन आचार्यलाई १६–२१, २१–१५ २१–१५ ले पराजित गरे । यस्तै समूह बीको खेलमा आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–५, २१–१७ र पिस फिटनेश सेन्टरका बिष्णु कटुवालले पुलिका देवराज रानालाई २१–१७, २१–१९ ले पराजित गरे ।
शिर्ष ८ बरियताको महिला एकल लिगको समूह ए को खेलमा पुलिसकी सुषमा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई २१–१६, २०–२२, २१–१६ ले पराजित गरिन् । यस्तै आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई २१–८, २१–११ ले पराजित गरिन् । समूह बीको प्रतिस्पर्धामा एपिएफकी रिहाना शेरचन र पुलिसकी निता लम्सालले जित हात पारे । रिहानाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–१२ र निताले सिटिजेन बैंककी नङ्गशल तामाङलाई २१–१६, ११–२१, २१–१७ ले पराजित गरेकी हुन् ।
पुरुष शिर्ष ८ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा कर्णालीका रमेश कामी, कस्तुरी कलेजका मिसेक छोङ्गवाङ्ग, आर्मीका सौर्य महर्जन र शिसिर राना, एपिएफका सुमित थोकर, आर्मीका बिशाल तामाङ्ग, पुलिसका टोपलाल कुमाल, मन्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिन, आर्मीका प्रतिक बिष्ट, पुलिसका जोन जसराज बालकुमारी रिमिक्सका सम्यक शाक्य, एपिएफका सुजन थापा, बिनय चौधरी र सुनसरीका नरेन्द्र लिम्बु आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरे ।
नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ६० जिल्ला, तीन विभागिय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी बलका ४८२ खेलाडीहरुले १५ बिधामा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
श्रावण ३० गते सम्म आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शिर्ष ८ बरियताका महिला÷पुरुष एकल, शिर्ष ८ बरियता बाहेकका महिला÷पुरुष एकल, महिला÷पुरुष युगल खुला, यु– ११, यु– १५ र यु– १९ छात्र तथा छात्रा खुला एकल, ३५ बर्ष माथिको खुला युगल, ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल गरि १५ बिधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ४५ र ५५ बर्ष माथिको मास्टर्स खुला युगल तर्फ बिदेशी खेलाडीहरुले पनि सहभागिता जनाउने र त्यसका लागि बिदेशी खेलाडीहरुलाई आमन्त्रण गरि सकिएको महासचिव शाक्यले बताए ।
ब्याडमिन्टनको एक मर्यादित र प्रतिक्षारत प्रतियोगिताको रुपमा रहेको प्रतियोगितालाई महत्व प्रदान गर्दै बिश्व ब्याडमिन्टन परिषद् सदस्य, ब्याडमिन्टन एशिया बिकास समितिका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष श्री वाजिद अली चौधरीको पनि उपस्थित रहने महासचिव शाक्यले जानकारी गराए ।
करिव ४१ लख ५ हजार २ सयको लागत रहेको प्रतियोगिताको पुरस्कार रासी १० लाख ७८ हजार रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीले मोटरसाईकल÷स्कुटर प्राप्त गर्नेछन् । यस अघिको संस्करणमा लगातार तीन संस्करणमा जित हात पार्दै प्रिन्स दाहालले मोटरसाईकल प्राप्त गरेका थिए ।
प्रतियोगितामा शिर्ष ८ बरियता महिला तथा पुरुष र शिर्ष १ बरियता महिला तर्फको खेल लिग कम नकआउटका आधारमा हुने छ । शिर्ष ८ का खेलाडीहरुलाई दुई ग्रुपमा बिभाजन गरिने छ । ग्रुप बाट प्रथम र द्वितीय स्थान प्राप्त गर्ने खेलाडीहरु सेमिफाईनलमा प्रवेश गर्ने छन् । लिगमा खेल खेल्ने खेलाडीले सहभागिता भएबापत नगद १ हजार ५ सय प्राप्त गर्नेछन् भने प्रत्येक बिजय बापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगितामा बिजयी खेलाडीले नगद ५० हजार प्राप्त गर्ने छने भने उपबिजयीले नगद ३५ हजार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुने खेलाडीले करिव १५ हजार प्राप्त गर्नेछन् ।
शिर्ष ८ बाहेकका पुरुष÷महिला एकलमा बिजयी खेलाडीले नगद ३० हजार, उपबिजयी खेलाडीले नगद १५ हजार र तृतीय स्थान प्राप्त गर्ने दुई खेलाडीले ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिला पुरुष युगल तर्फका शिर्ष तीनले ४० हजार, २० हजार र १० हजार नगदका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यु–११ तर्फका बिजयी खेलाडीहरुले क्रमशः नगद १५ हजार, ८ हजार र ४ हजार, यु–१५ तर्फका बिजयीले नगद २० हजार, १० हजार र ५ हजार तथा यु–१९ का बिजयीले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सयका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि ३५ बर्ष माथिको युगल, ४५ र ५५ बर्ष माथि मास्टर्सका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ४० हजर, २० हजार र १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।









