काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने लोकतन्त्रको मूल भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको रास्वपाले जनाएको छ ।
रास्वपाका अनुसार जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्न कार्यक्रम सञ्चालन गरिनेछ । यसअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनेछन् ।
मन्त्रीहरूले पार्टीका नेता–कार्यकर्ता मात्र नभई सर्वसाधारण नागरिकसँग समेत प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाइनेछ । नागरिकबाट प्राप्त गुनासा, समस्या, अपेक्षा र सुझावलाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको रास्वपाले जनाएको छ ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा नागरिक संवाद हुनेछ। साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा समय आम नागरिकका लागि खुला रहनेछ। उक्त समयमा सम्बन्धित मन्त्रीले नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या, गुनासा, सुझाव र अपेक्षा सुन्नेछन् ।
रास्वपाले नागरिक संवादलाई नेतृत्व र जनताबीचको प्रत्यक्ष सम्बन्ध कायम गर्ने माध्यमका रूपमा लिएको छ । स्थानीय तहदेखि राज्यका विभिन्न निकायसम्म नागरिकले भोगिरहेका समस्या तथा सेवासम्बन्धी गुनासालाई सम्बन्धित मन्त्रीसमक्ष प्रत्यक्ष पुर्याउने व्यवस्था यसबाट हुने अपेक्षा गरिएको छ ।
त्यसपछि साँझ ६ बजेदेखि नेतृत्व संवाद सुरु हुनेछ। यस चरणमा सम्बन्धित मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबीच संयुक्त बैठक हुनेछ । पहिलो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा गुनासाका आधारमा दोस्रो चरणमा छलफल गरिनेछ । साथै देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा पनि बैठकमा गहन छलफल हुने रास्वपाले जनाएको छ ।
रास्वपाले कार्यक्रममार्फत नागरिक, सरकार, संसद् र पार्टी संगठनबीचको समन्वयलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । नागरिकबाट उठेका विषयलाई पार्टीको नीति तथा सरकारको कामसँग जोडेर समाधानका लागि साझा रणनीति निर्माण गरिने बताइएको छ ।
त्यस्तै, सरकारमा रहेका मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने उद्देश्य पनि कार्यक्रमको रहेको छ । नागरिकका वास्तविक समस्या र आवश्यकतालाई नजिकबाट बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्न कार्यक्रम उपयोगी हुने रास्वपाको विश्वास छ । सरकारमा रहेका प्रतिनिधि, संसदीय दल, केन्द्रीय समिति र पार्टीको सांगठनिक तहबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने व्यवस्था पनि कार्यक्रममार्फत मिलाइनेछ ।
रास्वपाले नागरिकका आवाजलाई पार्टी र सरकारसम्म पुर्याउने मात्र नभई प्राप्त सुझावको आधारमा नीति निर्माण र कार्यान्वयनमा सुधार ल्याउने माध्यमका रूपमा ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमलाई अघि बढाउन लागेको जनाएको छ ।









