काठमाडौँ । आगामी साउन २२ देखि २८ गतेसम्म देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी गरेको कृषि-मौसम सल्लाह बुलेटिनले हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपात र तराई क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
साताको सुरुआतमा मनसुनको न्यूनचापीय रेखा आसपासमै रहने र साताको अन्त्यतिर नेपालनजिक उत्तरतर्फ सर्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा साताको मध्य र अन्त्यतिर धेरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना छ ।
पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना उच्च रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साताको मध्य तथा अन्त्यतिर धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने र केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने बुलेटिनमा उल्लेख छ । तराई क्षेत्रमा साताको मध्य तथा अन्त्यतिर केही स्थानमा मध्यम वर्षा र मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।
तापक्रममा भने उल्लेखनीय परिवर्तन नहुने अनुमान गरिएको छ । अधिकांश क्षेत्रमा आकाश सामान्यतया बदलीदेखि धेरै बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ ।
गत साता पनि अधिकांश क्षेत्रमा औसतभन्दा बढी वर्षा
गत साउन १५ देखि २१ गतेसम्म देशभर मनसुनी वायुको प्रभाव रहेको थियो। १०३ वटा मौसम केन्द्रमा मापन गरिएको वर्षाको विवरणअनुसार बागमती, गण्डकी र कोशी प्रदेशका धेरै केन्द्र तथा लुम्बिनी र मधेश प्रदेशका केही केन्द्रमा एक सातामै १०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।
गत साता सबैभन्दा बढी कर्णाली प्रदेशको जाजरकोटस्थित जाजरकोट केन्द्रमा २४२ दशमलव ५ मिलिमिटर साप्ताहिक वर्षा मापन भएको थियो । धेरैजसो वर्षा मापन भएका केन्द्रमा औसतभन्दा बढी वर्षा भएको बुलेटिनले जनाएको छ ।
गत साता देशका धेरै स्थानमा औसत अधिकतम तापक्रम सामान्यभन्दा कम र औसत न्यूनतम तापक्रम सामान्यभन्दा बढी मापन भएको थियो । मधेश प्रदेशको सिराहास्थित लहान केन्द्रमा सबैभन्दा बढी ३७.५ डिग्री सेल्सियस औसत अधिकतम तापक्रम मापन भएको थियो भने गण्डकी प्रदेशको मुस्ताङस्थित थाकमार्फा केन्द्रमा सबैभन्दा कम ९.६ डिग्री सेल्सियस औसत न्यूनतम तापक्रम मापन भएको थियो ।
धानमा पानी व्यवस्थापन र रोगको नियमित निगरानी गर्न सुझाव
कृषि–मौसम बुलेटिनले वर्षाको अवस्थालाई ध्यानमा राख्दै धानबालीमा पानीको उचित व्यवस्थापन गर्न किसानलाई सुझाव दिएको छ। धानखेतमा हरियो मलका रूपमा तयार भएको एजोला प्रयोग गर्न तथा यसको वृद्धिका लागि कम्तीमा १० दिनसम्म खेतमा ५ देखि १० सेन्टिमिटर पानीको गहिराइ कायम गर्न भनिएको छ । खेतबाट पानीसँगै एजोला बगेर जान नदिन पनि सुझाव दिइएको छ ।
धान रोपेको दुईदेखि तीन सातापछि खेतमा लगातार पानी जमिरहँदा धानमा फेद कुहिने रोग लाग्न सक्ने भएकाले नियमित निगरानी गर्न किसानलाई आग्रह गरिएको छ । रोगी बिरुवा उखेलेर नष्ट गर्न र प्रकोप बढेमा खेतमा जमेको पानी निकास गरेपछि सिफारिसअनुसार औषधि प्रयोग गर्न बुलेटिनमा उल्लेख छ ।
धान रोपेको २५ देखि ३० दिनपछि गाँज आउने समयमा सिफारिसअनुसार युरिया प्रयोग गर्न तथा युरियाको विकल्पका रूपमा नानो झोल युरिया प्रयोग गर्दा प्रतिलिटर पानीमा ४ मिलिलिटर मिसाएर सम्पूर्ण पात भिज्ने गरी छर्कन सकिने जनाइएको छ । मल छरेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिन पनि सुझाव दिइएको छ ।
फलफूल तथा तरकारीमा पनि सावधानी अपनाउन आग्रह
वर्षाको समयमा सबै प्रकारका फलफूल तथा तरकारीमा मौसमको अवस्था हेरेर मात्र विषादी छर्कन कृषि अनुसन्धान परिषद्ले सुझाव दिएको छ । कडा घाम लागेको, धेरै हावा चलेको वा पानी परिरहेको समयमा विषादी नछर्कन र वर्षाका बेला छर्कनैपरे सिफारिसअनुसार टाँसिने पदार्थ मिसाएर प्रयोग गर्न भनिएको छ ।
फलफूलका बगैँचामा सरसफाइ, झारपात व्यवस्थापन र पानी निकासको उचित व्यवस्था गर्न पनि किसानलाई सुझाव दिइएको छ। स्याउ समय नपुगी टिप्दा फल सानो, अमिलो तथा कडा हुने, राम्रो रङ तथा बास्ना नआउने र भण्डारणमा गुणस्तर बिग्रने भएकाले जातअनुसार पूर्ण रूपमा पाकेपछि मात्र टिप्न सुझाएको छ ।
केरा, सुन्तलाजातका फलफूल, स्याउ तथा ड्रागन फलमा विभिन्न रोग तथा कीराको जोखिम रहेको भन्दै नियमित निगरानी, सरसफाइ र पानी निकासमा विशेष ध्यान दिन भनिएको छ ।
तरकारीबालीमा पनि पानी जम्न नदिन, बिरुवालाई वर्षाबाट जोगाउन आवश्यकताअनुसार छानोको व्यवस्था गर्न तथा रोग र कीराको नियमित निगरानी गर्न सुझाव दिइएको छ। मध्यपहाडी क्षेत्रमा भदौमा लगाइने आलुका लागि सिफारिस गरिएका जातको स्वस्थ बीउ भरपर्दो स्रोतबाट व्यवस्था गर्न पनि भनिएको छ ।
पशुपालनतर्फ वर्षाको समयमा गोठभित्र सर्प पस्न सक्ने भएकाले सावधानी अपनाउन तथा गाई–गोरुमा देखिन सक्ने साउने ज्वरोप्रति निगरानी गर्न सुझाव दिइएको छ। बंगुरमा अफ्रिकी स्वाइन ज्वरोको जोखिम बढिरहेकाले जैविक सुरक्षा अपनाउन, बिरामी बंगुरलाई अलग राख्न, आवतजावत नियन्त्रण गर्न र गोठको सरसफाइमा ध्यान दिन बुलेटिनले आग्रह गरेको छ ।
मौसमसम्बन्धी जानकारीका लागि निःशुल्क रूपमा जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा तथा कृषि र पशुसम्बन्धी जानकारीका लागि राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको ११३५ नम्बरमा प्रत्येक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म सम्पर्क गर्न सकिने उल्लेख छ ।









