• २०८३ श्रावण २० बुधबार

एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने

एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको मिति तय भए पनि आयोजना हुने स्थान भने अझै टुङ्गो लागेको छैन ।

आईसीसीले यस वर्ष सार्वजनिक गरेको नयाँ विश्वकप संरचनाअनुसार १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने विश्वकपको मुख्य चरणमा सिधै स्थान बनाउनेछ । दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने टोलीले मुख्य १२ टोलीको चरणमा प्रवेश गर्नेछ । विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका १२ मैदानमा आयोजना हुनेछ।

छनोट प्रतियोगितामा सेप्टेम्बर ३०, २०२६ सम्मको एकदिवसीय वरीयताअनुसार आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वेबाहेक सबैभन्दा पुछारमा रहेका दुई पूर्ण सदस्य राष्ट्र, विश्वकप लिग–२ का शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट छनोट हुने चार टोलीले सहभागिता जनाउनेछन् । प्लेअफमा लिग-२ का पुछारका चार टोलीसँगै च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्यालेन्ज लिगमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहका शीर्ष दुई टोली प्लेअफमा पुग्नेछन् । प्लेअफको ढाँचा भने अझै सार्वजनिक गरिएको छैन ।

यसबीच दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पुनः छनोट खेल्नुपर्ने जोखिममा परेको छ । हाल एकदिवसीय वरीयताको १०औँ स्थानमा रहेको वेस्ट इन्डिजले कटअफअघि भारतसँग दुई एकदिवसीय खेल मात्रै खेल्नेछ । अफगानिस्तान र आयरल्यान्डबीच हुने शृंखलाको नतिजाले पनि उसको वरीयतामा प्रभाव पार्नेछ । आयरल्यान्डले अफगानिस्तानलाई ४-१ वा ५-० ले पराजित गरे र वेस्ट इन्डिजले भारतविरुद्ध दुवै खेल जिते शीर्ष आठमा पुग्ने सम्भावना रहनेछ । तर अफगानिस्तानले सिरिज जिते वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन फेरि छनोट प्रतियोगिता खेल्नुपर्ने लगभग निश्चित हुनेछ ।

वेस्ट इन्डिजले यसअघि पनि सन् २०२३ को एकदिवसीय विश्वकप गुमाएको थियो । हरारेमा भएको छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग ‘सुपर ओभर’मा पराजित भएपछि वेस्ट इन्डिज विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।

हाल विश्वकप लिग- २ खेलिरहेको नेपाल भने शिर्ष चारमा परेर विश्वकपको छनौट खेल्ने अवसर गुमाएको छ भने अब प्लेअफ खेल्दै छनौटको अवसर भने बाँकी रहेको छ । लिग- २ मा नेपालले अब चार खेल खेल्न बाँकी रहेको अवस्थामा ३२ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै