काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताका परिवारबीच वार्ता सुरु भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता सुरु भएको हो ।
यही साउन १० गते राति सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत मेहताको उपचारका क्रममा आज निधन भएको थियो ।
यसअघि आजै गृहमन्त्री सुधन गुरुङले आज हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए । छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
मेहताको निधनसँगै सुनसरीमा मात्र प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सुनसरी घटनापछि फैलिएको तनावमा सिरहामा समेत एक जनाको गोली लागेर ज्यान गएको थियो ।









