काठमाडौँ । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका जीर्ण, च्यातिएका तथा खुइलिएका फ्लेक्स बोर्ड र साइनबोर्ड सात दिनभित्र व्यवस्थापन गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।
महानगरपालिकाले जारी गरेको जरुरी सूचनामा व्यवसायिक प्रतिष्ठानहरूले प्रचारप्रसारका लागि राखेका कतिपय साइनबोर्ड च्यातिएको, खुइलिएको तथा जीर्ण अवस्थामा रहेको पाइएको उल्लेख गर्दै यसले सहरी सौन्दर्यमा नकारात्मक असर परेको जनाएको छ।
महानगरले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र त्यस्ता फ्लेक्स बोर्ड र साइनबोर्ड मर्मत, व्यवस्थापन वा हटाउन सम्बन्धित सबै व्यवसायीलाई आग्रह गरेको छ।
तोकिएको अवधिभित्र बोर्डहरू व्यवस्थित नगरिएमा प्रचलित कानुनबमोजिम पोखरा महानगरपालिकाले आफैं त्यस्ता बोर्ड हटाउने र आवश्यक कारबाही अघि बढाउने चेतावनी पनि सूचनामा दिइएको छ।
महानगरपालिकाले सबै व्यवसायीलाई सहरी सौन्दर्य कायम राख्न सहयोग गर्नसमेत अनुरोध गरेको छ।









