काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढेसँगै विश्वका ठूला प्रविधि कम्पनीहरूले आफ्ना प्रणालीलाई अझ प्रभावकारी बनाउन लाखौँ पुराना छापिएका पुस्तक खरिद गर्न थालेका छन् । कृत्रिम बुद्धिमत्ताले आफैं तयार गरेका सामग्रीको सट्टा मानवद्वारा लेखिएका मौलिक, विश्वसनीय र सम्पादित सामग्रीबाट प्रशिक्षण दिन कम्पनीहरूले पुराना पुस्तकमा ठूलो लगानी गर्न थालेका हुन् ।
विशेषज्ञहरूका अनुसार कृत्रिम बुद्धिमत्तालाई बारम्बार कृत्रिम बुद्धिमत्ताले नै तयार गरेको सामग्रीबाट प्रशिक्षण दिँदा समयसँगै यसको गुणस्तर, शुद्धता र तथ्यगत विश्वसनीयता कमजोर हुँदै जाने जोखिम हुने देखिएपछि 'मोडेल कोल्याप्स' को अवस्था आउने जोखिमबाट बच्न कम्पनीहरूले विशेषगरी सन् २०२२ अघि प्रकाशित पुस्तकहरूलाई प्राथमिकता दिएका छन् । ती पुस्तकहरू कृत्रिम बुद्धिमत्ताको व्यापक प्रयोग सुरु हुनुअघि लेखिएकाले तिनमा मौलिक मानवीय लेखन र व्यावसायिक सम्पादन रहेको विश्वास गरिन्छ ।
सन् २०२५ को जुन महिनामा अमेरिकाको एक सङ्घीय अदालतले कानुनी रूपमा खरिद गरिएका छापिएका पुस्तकलाई लेखकको थप अनुमति नलिई कृत्रिम बुद्धिमत्ताको प्रशिक्षणमा प्रयोग गर्न सकिने फैसला गरेपछि पुस्तक खरिदको गति अझ बढेको हो । अदालतले भने यो अनुमति कानुनी रूपमा खरिद गरिएका भौतिक पुस्तकमा मात्र लागू हुने र अवैध रूपमा सङ्कलन गरिएका डिजिटल पुस्तकमा लागू नहुने स्पष्ट पारेको थियो ।
यस निर्णयपछि पुराना पुस्तकको बजारमा उल्लेखनीय परिवर्तन देखिएको छ । विभिन्न पुस्तक विक्रेताका अनुसार सन् २०२६ को अप्रिलसम्म आइपुग्दा पुराना पुस्तकको माग करिब पाँच गुणाले बढेको छ । पुस्तकको विवरण राख्ने ठूला मञ्चहरूले समेत अहिले एकै पटक लाखौँ पुस्तक उपलब्ध गराउने सेवा विस्तार गरिरहेका छन्, जसबाट प्रविधि कम्पनीहरूले ठूलो परिमाणमा पुस्तक खरिद गरिरहेका छन् ।
खरिद गरिएका पुस्तकलाई विशेष उच्चगतिको स्क्यानिङ उपकरणमार्फत डिजिटल बनाइन्छ । त्यसका लागि पहिले पुस्तकको बाइन्डिङ हटाइन्छ, त्यसपछि प्रत्येक पृष्ठ स्क्यान गरी अक्षर पहिचान प्रविधिको सहयोगमा डिजिटल पाठमा रूपान्तरण गरिन्छ । यही सामग्री पछि कृत्रिम बुद्धिमत्तालाई प्रशिक्षण दिन प्रयोग हुन्छ । अधिकांश अवस्थामा स्क्यानिङ सकिएपछि पुस्तकका छुट्टिएका पृष्ठ पुनःप्रयोगका लागि पठाइन्छ वा नष्ट गरिन्छ ।
यही प्रक्रियाले दुर्लभ, सीमित संस्करणका तथा पुनःप्रकाशन नभएका पुस्तकको संरक्षणबारे नयाँ चिन्ता पनि जन्माएको छ। विज्ञहरूका अनुसार यस्ता पुस्तक ठूलो संख्यामा स्क्यान गरेर नष्ट गरिँदै गए भविष्यमा ऐतिहासिक तथा सांस्कृतिक महत्वका पुस्तकको उपलब्धतामा असर पर्न सक्छ। त्यसैले केही प्रविधि कम्पनीहरूले पुस्तक खरिद र प्रयोगसम्बन्धी विवरण सार्वजनिक नगरी गोपनीयता सम्झौताअन्तर्गत काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।









