• २०८३ श्रावण १८ सोमबार

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले बनायो विश्वव्यापी कमाइको नयाँ कीर्तिमान

काठमाडौँ । हलिउडको बहुप्रतीक्षित चलचित्र ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले प्रदर्शनको पहिलो साताअन्तमै विश्वभरबाट ९२ करोड ७० लाख अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै इतिहासकै दोस्रो ठूलो प्रारम्भिक व्यापार गरेको छ ।

चलचित्रको निर्माण लागत करिब २२ करोड ५० लाख अमेरिकी डलर रहेको अनुमान गरिएकामा पहिलो साताअन्तमै त्यसलाई धेरै गुणाले उछिनेको हो । पहिलो साताअन्तमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रको सूचीमा यो अब ‘एभेन्जर्सः एन्डगेम’ पछि दोस्रो स्थानमा पुगेको छ । ‘एभेन्जर्सः एन्डगेम’ ले सन् २०१९ मा पहिलो साताअन्तमै १ अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी कमाएको थियो ।

उत्तर अमेरिकामा मात्रै ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ ले ३३ करोड ५० लाख अमेरिकी डलर कमाउँदै त्यहाँ पनि दोस्रो ठूलो प्रारम्भिक व्यापारको कीर्तिमान बनाएको छ ।

वास्तविक जीवनमा श्रीमान्-श्रीमती रहेका अभिनेता टम हल्यान्ड र अभिनेत्री जेन्डाया अभिनीत यो चलचित्रले पछिल्ला केही वर्षमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेका मार्भल स्टुडियोलाई ठूलो राहत दिएको विश्लेषण गरिएको छ । विशेषगरी आगामी डिसेम्बरमा प्रदर्शन हुने बहुप्रतीक्षित ‘एभेन्जर्सः डुम्सडे’ अघि यस सफलताले स्टुडियोको उत्साह बढाएको छ ।

यो चलचित्र सन् २०२१ मा प्रदर्शन भएको ‘स्पाइडर–म्यानः नो वे होम’ को कथालाई अगाडि बढाउने गरी निर्माण गरिएको हो । यसमा पीटर पार्करले आफू नै स्पाइडर म्यान भएको कुरा संसारले बिर्सिसकेको अवस्थामा पनि अपराधविरुद्धको संघर्षलाई निरन्तरता दिएको कथा प्रस्तुत गरिएको छ ।

चलचित्रले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ । धेरैले यसलाई टम हल्यान्डको अहिलेसम्मकै उत्कृष्ट स्पाइडर म्यान अभिनय भएको टिप्पणी गरेका छन् ।

अमेरिकाबाहिर ७३ हजारभन्दा बढी पर्दाबाट चलचित्रले ५७ करोड २० लाख अमेरिकी डलर कमाएको छ । यसमध्ये चीनबाट १२ करोड १० लाख अमेरिकी डलर र बेलायतबाट पहिलो साताअन्तमै ४ करोड ९० लाख अमेरिकी डलर आम्दानी भएको वितरक कम्पनी सोनी पिक्चर्सले जनाएको छ ।

मार्भल स्टुडियोका अध्यक्ष केभिन फाइगीले चलचित्रको प्रारम्भिक सफलता अविश्वसनीय रहेको बताउँदै ठूलो पर्दामै चलचित्र हेर्न दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गरेका छन् ।

‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ आगामी ‘एभेन्जर्सः डुम्सडे’ प्रदर्शनअघि मार्भल स्टुडियोको अन्तिम ठूलो चलचित्र हो । ‘एभेन्जर्सः एन्डगेम’ पछि प्रदर्शन भएका मार्भलका धेरै चलचित्रले विगतजस्तो व्यापक दर्शक आकर्षित गर्न सकेका थिएनन् । ‘द मार्भल्स’ र ‘द थन्डरबोल्ट्स’ जस्ता चलचित्रले निर्माण लागत उठाए पनि स्टुडियोका कम सफल चलचित्रमध्ये परेका थिए ।

यद्यपि स्पाइडर म्यान सिरिज भने मार्भलका सबैभन्दा सफल चलचित्रमध्ये पर्दै आएको छ । यसअघि ‘स्पाइडर–म्यानः नो वे होम’ ले विश्वभरबाट करिब २ अर्ब अमेरिकी डलर बराबरको टिकट बिक्री गरेको थियो ।

कोभिड–१९ महामारीपछि चलचित्र हलमा दर्शकको उपस्थिति घटेर घरमै अनलाइन माध्यमबाट चलचित्र हेर्ने प्रवृत्ति बढेको थियो। तर यस वर्ष भने चलचित्र हलको व्यापार पुनः लयमा फर्किन थालेको देखिएको छ। उत्तर अमेरिकाको चलचित्र बजार सन् २०१९ यताकै पहिलो पटक १० अर्ब अमेरिकी डलरभन्दा बढी वार्षिक व्यापारतर्फ उन्मुख भएको छ ।
यस वर्ष ‘टोय स्टोरी–५’, ‘माइकल’ र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ ले पनि एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै