• २०८३ श्रावण १७ आइतबार

इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा

इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य आक्रमण रोक्ने घोषणा गरेका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँग द्रुत रूपमा सम्झौता गर्न सकिने अवस्था बने आक्रमण रद्द गर्ने निर्णय गरिएको बताएका हुन् । उनका अनुसार प्रस्तावित सम्झौतामा होर्मुज जलडमरूमध्य तत्काल पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न खतरा अन्त्य गर्ने विषय समावेश रहनेछ ।

ट्रम्पले उक्त निर्णय इजरायलसँगको समन्वयमा गरिएको बताएका छन् । यो घोषणा अमेरिकी सञ्चारमाध्यमहरूले सप्ताहान्तमा इरानमाथि थप शक्तिशाली आक्रमणको तयारी भइरहेको समाचार सार्वजनिक गरेलगत्तै आएको हो ।

यसअघि इरानले अमेरिकामाथि क्षेत्रीय तनाव बढाएको आरोप लगाउँदै वासिङ्टनसँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक युद्धको आगोमा तानिने चेतावनी दिएको थियो ।

ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो सैन्य शक्ति प्रयोग गर्न तयार अवस्थामा रहेको दाबी गर्दै इरान र मध्यपूर्वका केही मुलुकको आग्रहपछि सम्झौताका लागि अवसर दिन आक्रमण स्थगित गरिएको बताएका छन् ।

उनले सम्झौताका आधारभूत विषयमा सहमति नजिक पुगेको संकेत पनि गरेका छन्।

यद्यपि ट्रम्पको घोषणाप्रति इरानले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन तथा क्षेत्रीय अवस्था थप बिग्रिए तत्काल त्यहाँबाट बाहिरिन तयारी अवस्थामा रहन आग्रह गरेको छ । सम्भावित हवाई उडान रद्द, हवाई क्षेत्र बन्द तथा यात्रामा अवरोध आउन सक्ने चेतावनी पनि दिइएको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै अहिलेसम्मकै कडा हवाई आक्रमणको योजना बनाएका थिए । उक्त विषय शुक्रबार बसेको ट्रम्प मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको जनाइएको छ । समाचारअनुसार बैठकका क्रममा ट्रम्पले इरानमाथि कडा आक्रमण गरिने र अन्ततः इरान वार्ताका लागि बाध्य हुने अभिव्यक्ति दिएका थिए ।

यसैबीच साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै सम्भावित आक्रमणप्रति चिन्ता व्यक्त गरेको समाचार पनि सार्वजनिक भएको छ ।

अप्रिलमा भएको युद्धविराम जुन महिनामा विफल भएपछि अमेरिका र इरानबीच आक्रमण र प्रतिआक्रमणको शृङ्खला जारी छ ।  यसै साता अमेरिकाले आफ्ना सेनामाथि गरिएको क्षेप्यास्त्र आक्रमणको प्रयासको जवाफस्वरूप इरानमाथि ठूलो सैन्य कारबाही सम्पन्न गरेको जनाएको थियो ।

अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्नुका साथै विभिन्न सैन्य तथा रणनीतिक स्थलमा आक्रमण गर्दै आएको छ। जवाफमा इरानले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी क्षेप्यास्त्र र मानवरहित विमान प्रहार गर्नुका साथै विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजहरूलाई पनि निशाना बनाउँदै आएको छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ गतेदेखि इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेका थिए । त्यसयता जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा समेत उल्लेखनीय उतारचढाव देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै