काठमाडौँ । वर्षायाममा काठमाडौँको जमल क्षेत्रमा बारम्बार हुने डुबानको मुख्य कारण ढल प्रणालीको क्षमता असन्तुलित रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा विभिन्न सरकारी निकायका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्दा ढल सफाइभन्दा पनि पानी निकासको संरचनागत कमजोरी नै डुबानको प्रमुख कारण रहेको निष्कर्ष निकालेको हो ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी बल तथा स्थानीयवासीको सहभागितामा जमल क्षेत्रमा अध्ययन गरिएको थियो।
महानगरले डुबानको वास्तविक प्राविधिक कारण पत्ता लगाई समाधानका लागि सम्बन्धित निकायबाट प्रतिवेदन तयार गर्न निर्देशन दिएपछि टोली स्थलगत अध्ययनमा गएको हो । अध्ययनका क्रममा जमल क्षेत्रमा चार फरक दिशाबाट आउने ढल र सतहको पानी एउटै स्थानमा जम्मा हुने तर त्यसलाई निकास दिने ढलको क्षमता अत्यन्त कम रहेको पाइएको छ।
ज्याठाबाट ६० सेन्टिमिटर व्यासको पाइपमार्फत पानी आउछ भने निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडातर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासको ढल प्रणालीबाट पानी मिसिने गरेको छ। यसरी कुल २१५ सेन्टिमिटर क्षमताका विभिन्न ढल प्रणालीबाट आएको पानी अन्ततः ६० सेन्टिमिटर व्यासको ढलमार्फत निकास गर्नुपर्ने अवस्था रहेको अध्ययनले देखाएको छ।
डिभिजन सडक कार्यालय काठमाडौँकी इञ्जिनियर श्रीयंका रौनियारका अनुसार २१५ सेन्टिमिटरभन्दा बढी क्षमताबाट आउने पानी ६० सेन्टिमिटर व्यासको ढलले एकैपटक बगाउन नसक्ने भएकाले वर्षा हुँदा जमलमा डुबान हुने गरेको हो।
स्थलगत निरीक्षणका क्रममा ढलमा फोहोर थुप्रिएर पानी रोकिएको अवस्था भने नदेखिएको अध्ययन टोलीले जनाएको छ । जमलबाट तीनधारा पाठशाला, त्रिचन्द्र क्याम्पस, कमलादी हुँदै टुकुचासम्म करिब एक किलोमिटर लामो ढल प्रणालीको पनि निरीक्षण गरिएको थियो। जमल, त्रिचन्द्र क्याम्पस अगाडि र टुकुचामा ढलका ढकनी खोलेर हेर्दा ढलभित्र फोहोर नभेटिए पनि अन्य क्षेत्रबाट मिसाइएको ढल भने देखिएको थियो। यसले जमलको वर्षाको पानी निकासका लागि निर्माण गरिएको ढल प्रणालीको क्षमता अन्य ढलले पनि प्रयोग गरिरहेकाले पानी निकासमा ढिलाइ हुने गरेको संकेत गरेको छ ।
अध्ययनका अनुसार पुरानो ढल प्रणाली नष्ट हुँदै जाँदा त्यसको स्थानमा पर्याप्त क्षमताको नयाँ संरचना निर्माण नगरिएकाले सहरका विभिन्न स्थानमा डुबानको समस्या बढ्दै गएको छ । यसको उदाहरणका रूपमा ल्हाकु वही (जमः वहाः) क्षेत्रलाई पनि अध्ययन टोलीले उल्लेख गरेको छ। त्यहाँको प्राङ्गणमा पानी जमेर सानो पोखरीजस्तै बनेको छ भने पानीमा हरियो लेउसमेत लाग्न थालेको छ। यसले लामो समयसम्म पानीले निकास नपाएको देखाउछ।
महानगरका अनुसार जमल मात्र होइन, कमजोर ढल प्रणालीकै कारण काठमाडौँका अन्य धेरै क्षेत्र पनि वर्षामा डुबानको समस्याबाट प्रभावित छन् । महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले सहर डुबानको मुख्य कारण ढल सफाइ नभई ढल प्रणालीको वहन क्षमता असन्तुलित हुनु रहेको बताए । उनका अनुसार माथिल्लो क्षेत्रमा ठूलो क्षमताका ढल भए पनि तल्लो क्षेत्रमा साना क्षमताका पाइप प्रयोग गरिएकाले पानी सहज रूपमा बग्न नसक्दा डुबान हुने गरेको हो ।
नेपालले यसअघि माइतीघर मण्डला क्षेत्रमा गरिएको प्राविधिक अध्ययनपछि अब जमल र दरबारमार्ग क्षेत्रको विस्तृत प्राविधिक अध्ययन पनि गरिने जानकारी दिए। अध्ययन टोलीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयका प्राविधिकलाई समेत समावेश गरिने महानगरपालिकाले जनाएको छ ।









