• २०८३ श्रावण १६ शनिबार

निर्मल पुर्जालाई सम्झिदै गगन थापाले भने- तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ

निर्मल पुर्जालाई सम्झिदै गगन थापाले भने- तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ब्रोड पिकबाट आएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् ।

उनले लेखेका छन्, 'निम्स, ‘प्रोजेक्ट पोसिबल’ अघि, संसारले तपाईंको नाम चिन्नुअघि र तपाईंले हिमालमा सम्भावनाको परिभाषा नै बदल्नुअघि नै मैले तपाईंलाई भेटेको थिए । तपाईं सधैँजस्तै यसपटक पनि फर्कने बाटो खोज्नुहुन्छ भन्ने मेरो गहिरो विश्वास थियो ।'

थापाले निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान केवल कीर्तिमान नभई विश्वले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु रहेको उल्लेख गरेका छन् ।

उनले पुर्जाले नेपालीहरू केवल आरोहण अभियानका लागि आवश्यक शक्ति मात्र नभई नेतृत्वकर्ता, नयाँ बाटो देखाउने व्यक्ति र पर्वतारोहणको भविष्य परिवर्तन गर्न सक्ने सिर्जनशील शक्ति हुन् भन्ने प्रमाणित गरेको बताएका छन् । 'तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ,' थापाले उल्लेख गरेका छन्।

सभापति थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि स्मरण गरेका छन् ।

उनले प्रत्येक नाम पछाडि साहस, त्याग, सपना र घरमा प्रतीक्षारत परिवारको कथा रहेको उल्लेख गरेका छन् । थापाले दिवङ्गत सबै आरोहीका परिवार, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरू सधैँ स्मरणमा रहने बताएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै