काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आवश्यकताअनुसार ग्यासको नियमित आपूर्ति भइरहेको जनाएको छ।
निगमले दैनिक मागअनुसार ग्यास आपूर्ति भइरहे पनि विभिन्न सञ्चार माध्यममा ग्यास अभाव भएको समाचार प्रकाशित तथा प्रसारित भइरहेकाले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निगमका अनुसार असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताका ग्यास सिलिन्डर बिक्री–वितरणको व्यवस्था लागू गरिएको छ। त्यसपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सबै ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यसैगरी, ग्यास विक्रेतालाई घरायसी उपभोक्तालाई प्राथमिकता दिई खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न निगमले निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा केही कम्पनीका ग्यासको उच्च मागलाई ध्यानमा राख्दै निगमले साउन १६ गते शनिबारदेखि टेकुस्थित आफ्नै कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
निगमले ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र आफ्नो हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
निगमले खाना पकाउने ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।









