काठमाडौं । विलासी सवारीसाधन निर्माता कम्पनी बीएमडब्ल्यूले लागत घटाउने र कम्पनीको पुनर्संरचना गर्ने योजनाअन्तर्गत सन् २०२७ को अन्त्यसम्म ठुलो रोजगारी कटौती गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले जर्मनीका करिब आधा स्थायी कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव दिने भएको हो ।
फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार जर्मनीमा कार्यरत बीएमडब्ल्यूका करिब ८५ हजार स्थायी कर्मचारीमध्ये झन्डै ४० हजार जनालाई आगामी अक्टोबरदेखि स्वेच्छिक रूपमा सेवा छाड्न प्रस्ताव गरिनेछ ।
कम्पनीका अनुसार यो योजना मुख्य रूपमा कार्यालयमा कार्यरत कर्मचारीका लागि लागू हुनेछ। विश्वभर करिब एक लाख ५४ हजार कर्मचारी रहेको बीएमडब्ल्यूले कारखानामा सवारी उत्पादनमा संलग्न कर्मचारीलाई भने यस योजनाबाट बाहिर राखेको छ । उत्पादन लाइनमा कार्यरत कर्मचारीको रोजगारीमा तत्काल कुनै असर नपर्ने जनाइएको छ ।
बीएमडब्ल्यूले सन् २०२७ को अन्त्यसम्म कर्मचारी संख्या करिब ८ हजारले घटाउने लक्ष्य राखेको छ । कम्पनीको व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच करिब छ सातासम्म भएको छलफलपछि यस योजनामा सहमति भएको बताइएको छ ।
विश्वव्यापी रूपमा मोटर उद्योगमा आएको मन्दी, विद्युतीय सवारीसाधनबाट कम नाफा, अमेरिकाले लगाएको भन्सार शुल्क तथा चिनियाँ कम्पनीसँग बढ्दो प्रतिस्पर्धाका कारण जर्मनीका प्रमुख सवारी निर्माता कम्पनीहरू लागत घटाउने रणनीतिमा लागेका छन् ।
यसअघि फक्सवागेनले आफ्ना विभिन्न ब्रान्डमा गरी एक लाखसम्म रोजगारी कटौती गर्ने योजना बनाएको जनाएको थियो भने मर्सिडिज-बेन्जले पनि स्वेच्छिक अवकाश कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बीएमडब्ल्यूले पेट्रोल र डिजेलबाट चल्ने सवारीको उत्पादनलाई निरन्तरता दिएकाले अन्य प्रतिस्पर्धीको तुलनामा उद्योगको संकटलाई राम्रोसँग सामना गरेको मानिँदै आएको थियो । साथै कम्पनीको विद्युतीय सवारीसाधनको बिक्री पनि बढिरहेको थियो ।
तर पछिल्ला महिनामा कम्पनीको वित्तीय अवस्था दबाबमा परेको छ । गत महिना बीएमडब्ल्यूले नाफा अपेक्षाभन्दा कम हुने चेतावनी जारी गरेको थियो । कम्पनीका अनुसार चीनको सुस्त अर्थतन्त्र र चर्को प्रतिस्पर्धाका कारण त्यहाँको बजारमा व्यापार अपेक्षाभन्दा कमजोर भएको छ ।
चीनमा बीएमडब्ल्यू सवारीको आपूर्ति गत वर्ष सन् २०१७ यताकै न्यून स्तरमा पुगेको थियो । साथै, जुन महिनासम्मको पछिल्लो तीन महिनामा चीनमा कम्पनीको सवारी आपूर्ति वार्षिक आधारमा ३० प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।









