सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण शान्ति-सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो ।
प्रशासनका अनुसार कर्फ्यु गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नम्बर ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नम्बर ४ मा रहेको राष्ट्रिय प्रजातन्त्र राष्ट्रिय प्रजातन्त्र बहुमुखी क्याम्पस आसपासको क्षेत्रमा लागू हुनेछ ।
यो कर्फ्यु आदेश साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रभावकारी रहने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति–सुव्यवस्था कायम राख्न सबैसँग सहयोगको आग्रह गरेको छ । साथै, कर्फ्यु आदेश उल्लङ्घन गर्ने जो-कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।









