• २०८३ श्रावण १४ बिहीबार

अजिंक्य रहाणेद्वारा सबै प्रकारका क्रिकेटबाट सन्न्यास

अजिंक्य रहाणेद्वारा सबै प्रकारका क्रिकेटबाट सन्न्यास

काठमाडौँ । भारतका अनुभवी ब्याट्सम्यान तथा सन् २०२०-२१ को बोर्डर-गावस्कर ट्रफीमा भारतलाई ऐतिहासिक टेस्ट सिरिज जिताएका अजिंक्य रहाणेले सबै प्रकारको क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय क्रिकेटसँगै घरेलु टी-२० प्रतियोगितासहित सबै प्रकारको क्रिकेट जीवन समाप्त गरेको बताएका हुन् ।

सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै ३८ बर्षिय रहाणेले आफ्नो यात्रा यतिमै टुंगिएको बताएका छन् । उनले भारतका लागि खेल्ने अवसर पाउनु जीवनकै सबैभन्दा ठूलो गौरव भएको उल्लेख गर्दै समर्थकको माया, विश्वास र साथका लागि धन्यवाद दिएका छन् । रहाणेले क्रिकेटमा हरेक सुरुवातको अन्त्य हुने भन्दै आफूलाई सन्न्यासका लागि यही सही समय लागेको बताएका छन् ।

रहाणेले आफ्नो क्रिकेट यात्रा महाराष्ट्रको डोम्बिभलीबाट सुरु भएको स्मरण गर्दै सधैं देश र टोलीलाई आफूभन्दा माथि राखेर खेलेको बताए । उनले इमानदारीपूर्वक क्रिकेट खेलेको उल्लेख गर्दै भारतीय क्रिकेटरको रूपमा आफ्नो अध्याय समाप्त भए पनि क्रिकेटसँगको सम्बन्ध कहिल्यै अन्त्य नहुने बताए । अब आफू नयाँ पुस्ताका खेलाडीलाई अनुभव बाँड्न र क्रिकेटलाई केही फर्काउन चाहेको उनको भनाइ छ ।

रहाणेको करिअरको सबैभन्दा सम्झनलायक क्षण सन् २०२०-२१ को अस्ट्रेलिया भ्रमण रह्यो । एडिलेड टेस्टमा भारत ३६ रनमै समेटिएपछि नियमित कप्तान विराट कोहली स्वदेश फर्केका बेला रहाणेले टोलीको नेतृत्व सम्हालेका थिए । त्यसपछि मेलबर्न टेस्टमा शतकीय इनिङ्स खेल्दै भारतलाई ऐतिहासिक जित दिलाएका थिए । उनको कप्तानीमा भारतले अस्ट्रेलियामै २-१ ले टेस्ट सिरिज जित्दै भारतीय क्रिकेट इतिहासकै सबैभन्दा स्मरणीय विदेशी जितमध्ये एक दर्ता गरेको थियो ।

लामो समय भारतीय टेस्ट टोलीका भरपर्दा ब्याट्सम्यान मानिएका रहाणेले विशेषगरी विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले भारतका लागि ८५ टेस्ट, ९० एकदिवसीय अन्तर्राष्ट्रिय र २० टी-२० अन्तर्राष्ट्रिय खेल खेले । टेस्टमा उनले ५ हजार ७७ रन बनाउँदै १२ शतक र २६ अर्धशतक प्रहार गरेका छन् । तीनवटै प्रारूपमा गरी उनले ८ हजार ४१४ अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनी सन् २०१५ को विश्वकपमा सेमिफाइनल पुगेको भारतीय टोलीका सदस्य पनि थिए भने सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप चक्रमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

रहाणेले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२३ को जुलाईमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए । त्यसपछि राष्ट्रिय टोलीमा पुनरागमनको प्रयास गरे पनि अवसर नपाएपछि उनले अन्ततः सबै प्रकारको क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका हुन् । साथै, उनी अब इन्डियन प्रिमियर लिगमा पनि खेल्ने छैनन् । गत सिजन उनी कोलकाता नाइट राइडर्सका कप्तान थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै