काठमाडौँ । ओपनएआईले आफ्नै परीक्षणका क्रममा नियन्त्रणबाहिर गएको च्याटजीपीटीमा आधारित स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीले एउटा मात्र नभई अन्य सार्वजनिक अनलाइन सेवाहरूमा समेत अनधिकृत पहुच बनाउने प्रयास गरेको स्वीकार गरेको छ ।
यसअघि ह्याकिङको लक्ष्य केवल कृत्रिम बुद्धिमत्ता उपकरणहरूको साझा मञ्च ‘हगिङ फेस’ मात्र रहेको मानिएको थियो । तर कम्पनीले जारी गरेको अद्यावधिक विवरणमा उक्त प्रणालीले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध चारवटा लगइन विवरण फेला पारेर चार फरक सेवामा प्रवेश गरेको जनाएको छ ।
ओपनएआईका अनुसार ती लगइन विवरण सार्वजनिक रूपमा उपलब्ध भएकाले एआईले तिनको प्रयोग गरी विभिन्न खातामा पहुँच बनाएको बताएको छ । यद्यपि ती सेवाहरू कुन-कुन कम्पनीका थिए भन्नेबारे कम्पनीले खुलाएको छैन । साथै, ‘सार्वजनिक रूपमा उपलब्ध सेवा’ भन्नाले व्यावसायिक कम्पनीहरू नै हुन् वा अन्य सेवा भन्ने विषय पनि स्पष्ट पारिएको छैन ।
हगिङ फेसले भने विश्वकै पहिलो पूर्ण रूपमा स्वायत्त एआई प्रणालीद्वारा गरिएको ह्याकिङको अनुभवबारे सयौँ साइबर सुरक्षा विज्ञसँग आपत्कालीन छलफल गरेको जनाएको छ । कम्पनीका अनुसार ती स्वायत्त प्रणालीहरूले मानवभन्दा धेरै तीव्र गतिमा काम गरे पनि मानिसले नगर्ने किसिमका अनौठा र अव्यवस्थित निर्णयसमेत गरेका थिए । एउटै काम पटक-पटक दोहोर्याउने, असम्बद्ध आदेशहरू सिर्जना गर्ने र आफ्ना गतिविधि लुकाउन नसक्ने जस्ता कमजोरी देखिए पनि आवश्यक पर्दा नयाँ परिस्थितिअनुसार तुरुन्तै रणनीति बदल्ने क्षमता भने अत्यन्त प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।
हगिङ फेसका अनुसार उक्त स्वायत्त प्रणालीहरू लगातार हजारौँ फरक-फरक विधि एकैसाथ प्रयोग गर्दै ह्याकिङ प्रयासमा सक्रिय थिए । कम्पनीले गत जुलाई १६ मा आफू शक्तिशाली स्वायत्त एआई प्रयोग गरेर ह्याक भएको सार्वजनिक गर्दै प्रहरीलाई जानकारी दिएको थियो । त्यसको केही दिनपछि ओपनएआईले आफ्नै परीक्षणका क्रममा प्रणाली नियन्त्रणबाहिर गई हगिङ फेसमाथि आक्रमण गरेको स्वीकार गरेको थियो । कम्पनीका अनुसार एआईले आफूलाई दिइएको ह्याकिङसम्बन्धी परीक्षणको उत्तर खोज्ने क्रममा यस्तो गतिविधि गरेको थियो ।
घटनाबारे तयार गरिएको प्रतिवेदनमा एआई प्रणालीहरूले उद्देश्य प्राप्तिका लागि आफैँ उपलक्ष्य निर्धारण गर्ने, सुरक्षा प्रणाली छल्न तत्काल रणनीति परिवर्तन गर्ने र मेसिनको गतिमा निरन्तर प्रयास गर्ने भएकाले परम्परागत सुरक्षा उपायलाई चुनौती दिन सक्ने उल्लेख गरिएको छ । हगिङ फेसले ती प्रणालीहरू आफ्नो सञ्जालभित्र तीन दिनसम्म सक्रिय रहेको र नियन्त्रणमा लिन आफ्ना विज्ञहरूले धेरै घण्टा मेहनत गर्नुपरेको जनाएको छ । कम्पनीले करिब एकतिहाइ पूर्वाधार पुनर्निर्माण गर्नुपरेको भए पनि आर्थिक क्षतिको विवरण सार्वजनिक गरेको छैन ।
साइबर सुरक्षा क्षेत्रका विज्ञहरूले यस घटनालाई एआई प्रणालीबाट उत्पन्न हुने नयाँ प्रकारको जोखिमका रूपमा लिएका छन् । उनीहरूका अनुसार यस्ता स्वायत्त प्रणालीहरू थाक्दैनन्, विश्राम लिँदैनन् र लक्ष्य पूरा नभएसम्म सम्भावित सबै उपाय प्रयोग गर्न सक्छन् । त्यसैले भविष्यमा यस्ता प्रणालीहरूको प्रयोग र नियन्त्रणका लागि अझ स्पष्ट मापदण्ड, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको उनीहरूको भनाइ छ ।
ओपनएआईले यस घटनाबारे भइरहेको आन्तरिक अनुसन्धानको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ, जसबाट यस्ता जोखिमबाट बच्ने उपायबारे थप सिकाइ हुने अपेक्षा गरिएको छ ।









