काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–राहदानी) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको जनाएको छ ।
विभागका अनुसार हाल दैनिक करिब १ हजार ५०० वटा विद्युतीय राहदानी उत्पादन तथा छपाइ भइरहेको छ । विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप पनि उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ ।
विभागका अनुसार विद्युतीय राहदानी सेवा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत उपलब्ध हुँदै आएको छ । बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न उत्पादन क्षमता विस्तार गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको विभागको भनाइ छ ।
२०७८ मंसिरदेखि विद्युतीय राहदानी वितरण सुरु गर्दा दैनिक करिब १०० वटा मात्र राहदानी उत्पादन हुने गरेकोमा अहिले त्यो क्षमता बढेर दैनिक १ हजार ५०० वटा पुगेको विभागले जनाएको छ । यसलाई विभागले राहदानी सेवामा भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
विभागले सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या समाधानका लागि आवश्यक काम तीव्र रूपमा अघि बढाइएको जनाएको छ । आगामी एक महिनाभित्र अधिकांश प्राविधिक समस्या समाधान गर्ने र तीन महिनाभित्र सम्पूर्ण प्रणालीलाई स्थिर तथा थप भरपर्दो बनाउने लक्ष्यका साथ प्राविधिक र व्यवस्थापकीय सुधारको काम भइरहेको विभागले जनाएको छ । साथै अत्यावश्यक अवस्थामा राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने पनि विभागले स्पष्ट पारेको छ।









