काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति रवि लामिछानेले मंगलबार विज्ञप्ति जारी गर्दै घटनालाई अत्यन्त संवेदनशील र दुःखद भन्दै शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
रास्वपाले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसाबाट सम्भव नहुने स्पष्ट गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरेको छ ।
पार्टीले आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षलाई साम्प्रदायिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन अपिल गरेको छ ।
रास्वपाले वर्तमान परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र अवस्था सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
साथै, यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षसँग आग्रह गर्दै रास्वपाले आफ्ना स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ ।









