काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता व्यवस्थापन सम्बन्धी विभिन्न निर्णय गरेको छ ।
पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत प्राप्त सदस्यता आवेदन अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गते सम्म कायम गरेको छ। वडा सभापतिका पोर्टलमा रोकिएका आवेदनहरू सोही अवधिभित्र अनुमोदन गर्नुपर्ने निर्णय गरिएको छ ।
यसैगरी पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट अनुमोदन गरी पठाएका नयाँ क्रियाशील सदस्यका आवेदन प्राप्त भएको मितिले तीन–तीन दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
बैठकले यसअघि भएको निर्णयअनुसार भ्रातृ संस्था, शुभेच्छुक संस्था तथा इन्टरनेट पहुँच कम भएका उच्च हिमाली र दुर्गम पहाडी जिल्लामा अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण केन्द्रबाट विद्युतीय विवरण फाराममार्फत अद्यावधिक गर्ने निर्णय पनि गरेको छ। त्यस्ता विवरण २०८३ साउन १५ गतेभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्ने र प्राप्त विवरणको अद्यावधिक केन्द्रबाट तोकिएको अवधिभित्र सम्पन्न गरिने जनाएको छ ।
त्यस्तै, प्रतिनिधिसभा क्षेत्र तथा मातहतका सभापतिले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका कारण विद्युतीय प्रणालीमा काम रोकिएका स्थानमा वैकल्पिक व्यवस्था गरिने भएको छ। केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा सभापति तोकी क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता अनुमोदनको प्रक्रिया अघि बढाइने र त्यसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदनका लागि पेश गरिने निर्णय भएको छ ।
बैठकले विभिन्न कारणले कुनै जिल्लामा क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यहरूको सदस्यता पनि केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट अद्यावधिक गर्ने निर्णय गरेको छ ।
यस्तै, कुनै वडामा क्रियाशील सदस्यको संख्या ४० भन्दा कम तथा ३५ वर्षमुनिका सदस्यको संख्या पाँचभन्दा कम रहेको अवस्थामा त्यस्ता वडामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।









