चितवन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेकी छिन् ।
अकलामाई मन्दिर नजिकको चौरमा पूर्व-पश्चिम राजमार्गको बायाँपट्टि दुई महिला अचेत अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । टोलीले दुवै जनाको तत्काल उद्धार गरी भेडाबारीस्थित नगर अस्पताल पुर्याएको भए पनि उपचारकै क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका प्याकेट फेला परेका छन् । यस्तै, मृतकहरूको शरीरमा बाह्य चोटपटक नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।









