काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाएको छ ।
बुधबार बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा छुट्टै कार्यक्रमको आयोजना गर्दै देउवा पक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी गराएको छ । भेलामार्फत आफूहरूले आगामी रणनीति तय हुने कांग्रेस नेता प्रकाशमान सिंहले बताएका छन् । उनले विशेष महाधिवेशनको कारणले पार्टी विभाजनको अवस्थामा रहेकोले १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टी एकता जोगाउन सभापति गगन थापालाई आग्रह गरेका थिए । उनीहरुले सभापति थापासहित अहिलेको नेतृत्वले पार्टी एकता नचाहेको आरोप लगाउदै पार्टी एकताको सम्भावना कम रहेको बताएका थिए ।









