काठमाडौँ । आज जुलाई १८ का अवसरमा विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २००९ मा घोषणा गरेको यो दिवस दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति तथा रंगभेदविरोधी आन्दोलनका अग्रणी नेता नेल्सन मण्डेलाको जन्मजयन्तीको सम्झनामा प्रत्येक वर्ष मनाउने गरिन्छ ।
यस दिवसको उद्देश्य मण्डेलाले जीवनभर अघि सारेका मानव अधिकार, समानता, शान्ति, मेलमिलाप तथा सामाजिक न्यायका मूल्यलाई आत्मसात् गर्दै समाजसेवामा सहभागी हुन विश्व समुदायलाई प्रेरित गर्नु हो । दिवसको मुख्य सन्देशका रूपमा प्रत्येक व्यक्तिलाई कम्तीमा ६७ मिनेट समाजसेवामा समर्पित गर्न आग्रह गरिन्छ । यो समय मण्डेलाले सामाजिक न्याय र मानव अधिकारका लागि गरेको ६७ वर्षको संघर्षको प्रतीक मानिन्छ ।
नेल्सन मण्डेलाले सन् २००८ मा दिएको एक सम्बोधनमा विश्वका युवालाई अन्याय र विभेदविरुद्ध नेतृत्व लिन आह्वान गर्दै 'अब जिम्मेवारी तपाईंहरूको हातमा छ' भन्ने सन्देश दिएका थिए । त्यसैबाट प्रेरित हुँदै सन् २००९ मा नेल्सन मण्डेला प्रतिष्ठानले उनको जन्मदिनमा समुदाय सेवाको अभियान सुरु गरेको थियो । पछि सोही वर्ष संयुक्त राष्ट्रसंघको महासभाले जुलाई १८ लाई नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषणा गरेको थियो । संयुक्त राष्ट्रसंघको औपचारिक आयोजनासहित पहिलो पटक यो दिवस सन् २०१० मा मनाइएको थियो ।
यो दिवस सार्वजनिक बिदाको रूपमा नभई समाजका लागि सकारात्मक योगदान गर्ने कार्य दिवसका रूपमा मनाइन्छ । विश्वभर व्यक्ति, संस्था र समुदायले स्वयंसेवा, सहयोग तथा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गरी मण्डेलाको आदर्शलाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएका छन् ।









