हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरुको नयाँ कार्यविभाजन सिफारिस गरेपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन गरेका छन् ।
नयाँ संरचनाअनुसार प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय कायम भएका छन् । सरकारमा रहेका १४ मन्त्रीमध्ये ८ जनाले मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् भने बाँकी ६ जना मन्त्रीलाई हालका लागि विनाविभागीय राख्दै अतिरिक्त जिम्मेवारी तोकिने बताइएको छ ।
गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । जस अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय रहने छन् ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन् । त्यस्तै मधुसूदन पौडेल कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री, शिवराज अधिकारी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास मन्त्री र प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् । त्यसैगरी कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री रहेकी छन् ।
मन्त्रालयहरूको संख्या घटाइएपछि किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेल विनाविभागीय मन्त्री रहेका छन् ।
.jpg)









