काठमाडौँ । अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।
एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा निर्धारित समय सकिनै लाग्दा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको अधिकांश समय अग्रता जोगाएको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो ।
तेस्रो विश्व उपाधि विजेता तथा साविक च्याम्पियन अर्जेन्टिनाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरे पनि सुरुआती प्रयास सफल हुन सकेका थिएनन् । कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा अगाडि राखेका थिए ।
खेलको ६९औँ मिनेटमा मेस्सीको सटिक पासमा निको गोन्जालेजले गरेको प्रहार पिकफोर्डले शानदार रूपमा बचाएका थिए । त्यसको सात मिनेटपछि पनि उनले अलेक्सिस म्याक एलिस्टरको प्रहार रोकेका थिए। त्यसअघि म्याक एलिस्टरको अर्को प्रहार पोस्टमा लागेको थियो ।
तर ८६औँ मिनेटमा एन्जो फर्नान्डेजले करिब २० गज टाढाबाट दर्शनीय प्रहार गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा पुर्याएका थिए । त्यसपछि ९०औँ मिनेटमा म्याक एलिस्टरको अर्को प्रहार पुनः पोस्टमा लागे पनि त्यसलगत्तै मेस्सीले दिएको उत्कृष्ट क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले नजिकैबाट हेडमार्फत जाली चुमाउँदै निर्णायक गोल गरेका थिए ।
यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ भने उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।









