काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने आफ्नो प्रस्ताव करिब २४ घन्टामै फिर्ता लिएका छन् । अब त्यसको सट्टा खाडी मुलुकसँग व्यापार र लगानीसम्बन्धी ठूला सम्झौतामा जोड दिइने उनले बताएका छन् ।
ट्रम्पले पश्चिम एसियाका नेतासँग भएको अत्यन्त सकारात्मक र उपयोगी छलफलपछि शुल्क लगाउने योजना स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार अब विभिन्न खाडी मुलुकले अमेरिकामा ठूलो मात्रामा लगानी गर्ने र व्यापार विस्तार गर्ने समझदारीलाई प्राथमिकता दिइनेछ ।
ट्रम्पले टोल शुल्कभन्दा लगानी र व्यापार दुवै पक्षका लागि बढी लाभदायी हुने उल्लेख गर्दै यसबाट अमेरिका र खाडी मुलुक दुवैले आर्थिक फाइदा लिने दाबी गरेका थिए ।
यद्यपि उनले इरानसँग सम्बन्धित जहाजमाथिको नियन्त्रण भने कायमै रहने बताए । उनका अनुसार अब नाकाबन्दी इरानी बन्दरगाहबाट आउने वा जाने जहाज तथा इरानसँग सम्बन्धित सामान बोकेका जहाजमा मात्र लागू हुनेछ ।
ट्रम्पले अमेरिकाको सैन्य शक्तिका कारण होर्मुज जलडमरूमध्य अधिकांश जहाजका लागि सुरक्षित र खुला रहेको दाबी गर्दै रक्षा मन्त्री पिट हेगसेथ, संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष ड्यान केन र अमेरिकी केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको प्रशंसा गरे । उनले इरानको नेतृत्वलाई हिंसात्मक र गलत नीतिअनुसार देशलाई विनाशतर्फ धकेलिरहेको आरोपसमेत लगाए ।
उनले आगामी दिनमा खाडी मुलुकबाट हुने नयाँ लगानीका कारण अमेरिकामा कारखाना, उद्योग र आधुनिक उत्पादन संयन्त्र विस्तार हुने तथा लाखौँ रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरेका छन् । साथै इरानले कहिल्यै पनि परमाणु हतियार प्राप्त गर्न नसक्ने दाबी दोहोर्याए ।
यसअघि ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षामा अमेरिकाको ठूलो भूमिका रहेको भन्दै त्यहाँबाट गुड्ने मालवाहक जहाजबाट २० प्रतिशत शुल्क उठाउने बताएका थिए । तर ह्वाइट हाउसमा इराकका प्रधानमन्त्री अली अलजैदीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले शुल्कभन्दा व्यापार र लगानी विस्तारलाई प्राथमिकता दिने बताएका थिए ।









