काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनअन्तर्गत बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ र श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् तथा ती महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन् ।









