काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसी आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको अर्को ऐतिहासिक उपलब्धिको संघारमा पुगेका छन् । अमेरिकाको एटलान्टामा हुने फिफा विश्वकप फुटबलको सेमिफाइनलमा उनले पहिलो पटक इङल्याण्डविरुद्ध प्रतिस्पर्धा गर्ने भएका हुन् ।
दुई दशकभन्दा बढी समयदेखि अर्जेन्टिनाको प्रतिनिधित्व गरिरहेका मेसीले विश्वकप जित्ने अन्य सबै प्रमुख राष्ट्रविरुद्ध खेले पनि इङल्याण्डसँग भने अहिलेसम्म कुनै आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यसपटक दुवै टोलीबीचको भेट विश्वकपको फाइनल यात्रा तय गर्ने निर्णायक खेल हुनेछ ।
मेसीले इङल्याण्डविरुद्धको खेल आफ्ना लागि विशेष रहेको बताएका छन् । उनले भने- 'यो खेल मेरा लागि निकै विशेष छ, किनभने म पहिलो पटक इङल्याण्डविरुद्ध खेल्दै छु । इङल्याण्डबाहेक सबै ठूला टोलीविरुद्ध खेलिसकेको छु । उनीहरू निकै बलियो टोली हुन् । विश्वकपको सेमिफाइनलमा यस्तो टोलीसँग खेल्नु सधैं विशेष अनुभव हुन्छ ।’
मेसीले आफ्नो करियरमा ब्राजिल, उरुग्वे, जर्मनी, इटाली, स्पेन र फ्रान्सजस्ता विश्व फुटबलका शक्तिशाली राष्ट्रविरुद्ध खेलिसकेका छन् । तर इङल्याण्डसँग भने उनको भेट हुन सकेको थिएन ।
सन् २००५ नोभेम्बरमा स्विट्जरल्यान्डको जेनेभामा भएको मैत्रीपूर्ण खेलमा उनी इङल्याण्डविरुद्ध खेल्ने नजिक पुगेका थिए । तर त्यसअघि हङ्गेरीविरुद्ध सिनियर टोलीबाट डेब्यु खेल्दा रातो कार्ड पाएका कारण उनी उक्त खेलमा सहभागी हुन पाएका थिएनन् । त्यस खेलमा अर्जेन्टिना ३-२ ले पराजित भएको थियो ।
साबिक विजेता अर्जेन्टिनाले यस विश्वकपको नकआउट चरणमा उत्कृष्ट पुनरागमन गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रिक्वार्टरफाइनलमा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो । त्यसपछि स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल अतिरिक्त समयमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले ३-१ को जित दर्ता गर्यो ।
उक्त खेलमा मेसीले अलेक्सिस म्याक एलिस्टरको पहिलो गोलका लागि कर्नरमार्फत अवसर सिर्जना गरेका थिए । त्यसपछि जुलियन आल्भारेज र लाउतारो मार्टिनेजले गोल गर्दै टोलीलाई जित दिलाए । कतार विश्वकप २०२२ मा पोल्यान्डविरुद्धको समूह चरणपछि पहिलो पटक मेसी कुनै विश्वकप खेलमा गोल गर्नबाट चुकेका हुन् ।
लगातार कठिन खेल खेलेपछि टोली शारीरिक रूपमा थाकेको स्वीकार गर्दै मेसीले भने- 'हामी केही आराम गर्ने प्रयास गर्नेछौं । पछिल्ला खेलहरूमा निकै दबाब थियो र त्यसको असर शरीरमा देखिएको छ । टोलीले पनि त्यो महसुस गरिरहेको छ । तर हामी अझै पनि प्रतिस्पर्धा गर्न सक्षम अवस्थामा छौं र यही लयलाई निरन्तरता दिन चाहन्छौं ।’
अर्जेन्टिना र इङल्याण्डबीच विश्वकपमा पछिल्लो प्रतिस्पर्धात्मक भेट सन् २००२ मा भएको थियो । त्यस खेलमा इङल्याण्डले १-० को जित निकालेको थियो । अब २४ वर्षपछि यी दुई टोली फेरि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन् । अर्जेन्टिनाले फाइनलमा स्थान सुरक्षित गर्ने मात्र होइन, सन् १९६२ मा ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्य पनि राखेको छ ।









