• २०८३ असार २९ सोमबार

संघीय संसदका चार समितिको बैठक बस्दै

संघीय संसदका चार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ८ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगसँग आव २०८२/८३ मा राष्ट्रिय योजना आयोगबाट भएगरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा, १६औं आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयनको अवस्था, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायत विकास आयोजनाहरूको कार्यप्रगतिको अवस्था बारे छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी आज दिउसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । साथै छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कार्यकारी निर्देशक तथा विषय विज्ञ डा. गोपाल कुमार चौधरीसँग छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी आज दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धि निरीक्षण र अवलोकन उपसमितिको प्रतिवेदनमा छलफलको कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मधेश प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै