• २०८३ असार २६ शुक्रबार

ह्वाट्सएपले ल्यायो एआईमा आधारित 'बिजनेस एजेन्ट’

ह्वाट्सएपले ल्यायो एआईमा आधारित 'बिजनेस एजेन्ट’

काठमाडौं । मेटाले व्यवसायीलाई लक्षित गर्दै ह्वाट्सएपमा नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) आधारित मेटा बिजनेस एजेन्ट सार्वजनिक गरेको छ ।

मुम्बईमा ह्वाट्सएपको तेस्रो बिजनेस समिटका क्रममा सार्वजनिक गरिएको यो प्रणालीले ग्राहकका प्रश्नको उत्तर दिनेदेखि उत्पादन सिफारिस गर्ने, भेटघाटको समय तय गर्ने र बिक्री बढाउन सहयोग गर्ने काम स्वचालित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।

मेटाका अनुसार यो एआई सहायक व्यवसाय र ग्राहकबीचको संवादलाई छिटो, सहज र व्यक्तिगत बनाउन तयार गरिएको हो । आवश्यक परेमा यसले भइरहेको संवादलाई मानव सहयोगी वा ग्राहक सेवा प्रतिनिधिसमक्ष पनि हस्तान्तरण गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ ।

यो बिजनेस एजेन्टले ग्राहकका जिज्ञासाको उत्तर दिने, व्यवसायको सूचीबाट उपयुक्त उत्पादन सिफारिस गर्ने, भेटघाटको समय मिलाउने, सम्भावित नयाँ ग्राहक पहिचान गर्ने तथा बिक्री प्रक्रिया पूरा गर्न सहयोग गर्नेछ । साथै, कुन अवस्थामा एआईले संवादलाई कम्पनीका कर्मचारीलाई हस्तान्तरण गर्ने भन्ने निर्णय व्यवसायीले आफैं गर्न सक्नेछन् ।

मेटाले यो प्रणाली ग्राहक सेवामा मात्र सीमित नरहेको जनाएको छ । यसले छुटेका च्याटहरूको सारांश तयार गर्ने, ग्राहकसँग भएका संवादबाट आवश्यक जानकारी संकलन गर्ने तथा व्यवसायलाई निर्णय लिन र दैनिक कामलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने क्षमता पनि राख्छ ।

यससँगै मेटाले ठूला कम्पनीका लागि मेटा बिजनेस एजेन्ट प्लेटफर्म पनि सार्वजनिक गरेको छ । यस प्लेटफर्ममार्फत कम्पनीहरूले आफ्नो आवश्यकता अनुसार एआई एजेन्ट निर्माण र अनुकूलन गर्न सक्नेछन्। यो प्रणाली शपिफाइ, जेन्डेस्क र शोपी जस्ता व्यवसायिक प्रणालीसँग पनि जोडिएर काम गर्न सक्ने कम्पनीले जनाएको छ ।

हाल मेटाले इच्छुक व्यवसायीका लागि प्रतीक्षा सूची खुला गरेको छ । स्विगी, मधुलिका इन्टरप्राइजेज र काइजेन एडभेन्चर्स यो प्रणाली प्रयोग गर्ने प्रारम्भिक कम्पनीमध्ये रहेका छन् ।

मेटाले ह्वाट्सएप प्रयोगकर्ताका लागि पनि नयाँ सुविधा ल्याउने घोषणा गरेको छ।  अब चाँडै प्रयोगकर्ताले ह्वाट्सएपको खोजी खण्डबाटै कुनै व्यवसायको नाम सिधै खोज्न सक्नेछन्। साथै, व्यवसायिक सम्पर्क साथीभाइ र परिवारसँग साझा गर्न सकिने सुविधा पनि थपिने भएकाले मनपर्ने व्यवसायसम्म पुग्न अझ सहज हुने कम्पनीको विश्वास छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै