• २०८३ असार २६ शुक्रबार

विश्वकपको क्वार्टरफाइनलमा आजराति स्पेन र बेल्जियमबीच भिडन्त

विश्वकपको क्वार्टरफाइनलमा आजराति स्पेन र बेल्जियमबीच भिडन्त

काठमाडौँ । जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा आजराति स्पेन र बेल्जियम आमने सामने हुँदैछन् । लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुदैछ । 

यस खेलको विजेता सेमिफाइनलमा पुग्नेछ भने अर्को टोलीको विश्वकप यात्रा समाप्त हुनेछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

स्पेनले अन्तिम १६ को खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा मिकेल मेरिनोले निर्णायक गोल गरेका थिए । स्पेन पछिल्ला १५ खेलमा अपराजित रहँदै आएको छ, जसले टोलीको आत्मविश्वास उच्च रहेको देखाउछ ।

यता बेल्जियमले अन्तिम १६ मा संयुक्त राज्य अमेरिकालाई ४- १ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो । चार्ल्स डे केटेलारेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । बेल्जियम पनि लगातार १८ खेलदेखि अपराजित रहँदै आएको छ, जसले स्पेनविरुद्ध कडा चुनौती प्रस्तुत गर्ने संकेत दिएको छ ।

दुवै टोलीबीच पछिल्लो भेट सन् २०१६ को मैत्रीपूर्ण खेलमा भएको थियो । त्यसबेला स्पेनले बेल्जियमलाई २-० ले हराएको थियो । उक्त खेलमा डेभिड सिल्भाले दुवै गोल गर्दै स्पेनलाई जित दिलाएका थिए । यद्यपि त्यसयता दुवै टोलीमा व्यापक परिवर्तन आइसकेकाले पुरानो नतिजाले मात्र यस खेलको अनुमान गर्न कठिन छ । स्पेनका लागि यस विश्वकपमा मिकेल ओयारजाबाल उत्कृष्ट लयमा छन् । उनले हालसम्म चार गोल गरेका छन् । उनका चार गोलमध्ये एक गोल खेलको पहिलो गोलका रूपमा आएको थियो, जसले टोलीलाई अग्रता दिलाउने काम गरेको छ । बेल्जियमका रोमेलु लुकाकुले भने यस विश्वकपमा तीन गोल गर्दै टोलीको आक्रमण सम्हालिरहेका छन् ।

गोल गर्ने क्रममा पनि दुवै टोली प्रभावशाली देखिएका छन् । स्पेनले विश्वकपका लगातार चार खेलमा गोल गरेको छ भने बेल्जियमले लगातार तीन खेलमा जाली चुमाएको छ । यसले दुवै टोली आक्रमणमा निकै प्रभावकारी रहेको संकेत गर्छ ।

समग्र प्रदर्शन हेर्दा स्पेनले पछिल्ला छ खेलमध्ये पाँचमा जित र एकमा बराबरी खेलेको छ । यस अवधिमा उसले १२ गोल गर्दा केवल एक गोल मात्र व्यहोरेको छ । ती छ खेलमध्ये पाँच खेलमा स्पेनले पहिलो गोल गरेको थियो । टोलीका सात गोल पहिलो हाफमै भएका थिए भने विपक्षीले पहिलो हाफमा गोल गर्न सकेका थिएनन् ।

बेल्जियमले पनि पछिल्ला छ खेलमा चार जित र दुई बराबरीको नतिजा निकालेको छ । यस अवधिमा उसले १८ गोल गर्दा पाँच गोल मात्र व्यहोरेको छ । तीन खेलमा बेल्जियमले पहिलो गोल गरेको थियो । टोलीले पहिलो हाफमै चार गोल गरेको छ भने विपक्षीले पहिलो हाफमा तीन गोल फर्काएका छन् ।

दुवै टोली अपराजित यात्रालाई निरन्तरता दिँदै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिने भएकाले यो क्वार्टरफाइनल विश्वकपकै सबैभन्दा प्रतिस्पर्धात्मक खेलमध्ये एक हुने अपेक्षा गरिएको छ । स्पेनको सन्तुलित रक्षापंक्ति र बेल्जियमको आक्रामक खेलशैलीबीचको भिडन्तले फुटबल समर्थकलाई उच्चस्तरीय प्रतिस्पर्धा हेर्ने अवसर दिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै