काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति, पदोन्नति तथा तहवृद्धि लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार काफ्लेले भारतको आसाम प्रदेशस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन आसामबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको भन्दै झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा उनले सरकारी सेवामा प्रवेश गरी विभिन्न चरणमा नियुक्ति, पदोन्नति र तहवृद्धिसमेत लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानअनुसार काफ्ले २०५७ सालमा अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक पदमा अस्थायी नियुक्त भएका थिए। त्यसपछि २०६४ मा कार्यालय सहायक खरिदार, २०६७ मा स्थायी कार्यालय सहायक (मुखिया), २०७२ मा सहायकस्तर चौथो तह खरिदारमा बढुवा तथा २०७९ मा सहायकस्तर पाँचौं तहमा तहवृद्धि भएका थिए । यी सबै प्रक्रियामा उनले सोही नक्कली प्रमाणपत्र प्रयोग गरेको आयोगको आरोप छ ।
अख्तियारले काफ्लेविरुद्ध तत्कालीन भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा वर्तमान भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम कसुर कायम गरी सरकारी सेवाबाट गैरकानुनी रूपमा प्राप्त ओहदा, लाभ र सुविधाका विषयमा सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।









