• २०८३ असार २६ शुक्रबार

दलाई लामासम्बन्धी गतिविधिप्रति नारायणकाजीको आपत्ति, सरकारलाई सचेत रहन चेतावनी

दलाई लामासम्बन्धी गतिविधिप्रति नारायणकाजीको आपत्ति, सरकारलाई सचेत रहन चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिले नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलन हुन सक्ने भन्दै सरकारप्रति चेतावनी दिएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा तथा उनको कथित सरकारका तर्फबाट बधाई सन्देश आएयता नेपालमा त्यसको अन्तर्यबारे गम्भीर आशंका व्यक्त हुँदै आएको बताएका छन्। दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा हुन सक्ने चर्चा पनि चलिरहेको उनको भनाइ छ ।

उनले केही दिनअघि नेपालमा पहिलो पटक सरकारी औपचारिक अनुमतिमा दलाई लामाको जन्मोत्सव समारोह आयोजना गरिएको र उक्त कार्यक्रममा काठमाडौँस्थित केही पश्चिमा मुलुकका कूटनीतिज्ञको समेत सहभागिता रहेको सार्वजनिक भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ' यस बीचमा केही दिन अघि मात्र नेपालमा पहिलो पल्ट दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा एक समारोहका साथ मनाइयो ,जसमा कतिपय पश्चिमा राष्ट्रका काठमाण्डौ स्थित कूटनीतिज्ञहरू समेतको उपस्थिति रहेको कुरा सार्वजनिक भएका छन्।यो सामान्य घटना होइन । यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा  गम्भीर बिचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्याएको छ ।'

श्रेष्ठले यो सामान्य घटना नभई वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख भइरहेको आशंकालाई बल पुगेको दाबी गरेका छन् ।

उनले नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई व्यवहारमा त्यागेर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा सरकार अघि बढे त्यसले नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई गम्भीर जोखिममा पार्ने चेतावनी दिएका छन् । 

देशभक्त नेपाली जनताले त्यस्तो कदम स्वीकार नगर्ने र आवश्यक परे त्यसको सशक्त प्रतिरोध हुने उल्लेख गर्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताविरुद्ध हुने कुनै पनि गतिविधि नगर्न सरकारलाई गम्भीर चेतावनी दिएका छन् । उनले भनेका छन्- ' म सरकारलाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको विरुद्ध यस प्रकारको  कुनै पनि गतिविधि नगर्न गम्भीर चेतावनी दिन  चाहान्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै