• २०८३ असार २४ बुधबार

विश्वकपकै बीचमा अर्जेन्टिनी फुटबल सङ्घमाथि अमेरिकामा किन हुदैछ अनुसन्धान ?

विश्वकपकै बीचमा अर्जेन्टिनी फुटबल सङ्घमाथि अमेरिकामा किन हुदैछ अनुसन्धान ?

काठमाडौँ । एकातिर अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली विश्वकप उपाधि रक्षा गर्ने अभियानमा अघि बढिरहेको छ भने अर्कोतर्फ अर्जेन्टिना फुटबल सङ्घ (एएफए) को आर्थिक कारोबारमाथि अमेरिकामा अनुसन्धान अघि बढाइएको छ ।

अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोनका अनुसार अमेरिकी सङ्घीय अभियोजक र सङ्घीय अनुसन्धान ब्युरोका अधिकारीहरूले एएफएको वित्तीय कारोबारबारे बयान लिन थालेका छन् । अनुसन्धानको मुख्य उद्देश्य अमेरिकाको बैंकिङ प्रणालीमार्फत एएफएले सञ्चालन गरेको करोडौँ डलरको आर्थिक कारोबारको स्रोत र प्रयोगबारे छानबिन गर्नु तथा त्यसमा सम्पत्ति शुद्धीकरण, ठगी वा अन्य आर्थिक अपराध भएको छ वा छैन भन्ने यकिन गर्नु रहेको बताइएको छ ।

अनुसन्धानको केन्द्रमा नाट्य निर्माता जाभियर फारोनीको कम्पनी टुरप्रोडइन्टर एलएलसी रहेको जनाइएको छ । उक्त कम्पनीले पछिल्ला वर्षहरूमा एएफएका अन्तर्राष्ट्रिय व्यावसायिक सम्झौताबाट प्राप्त रकम व्यवस्थापन गर्दै आएको थियो । एडिडास र वार्नरजस्ता कम्पनीसँग भएका सम्झौताबाट आएको रकमसमेत यही कम्पनीमार्फत सञ्चालन भएको बताइएको छ ।

प्रतिवेदनअनुसार उक्त कम्पनीले सिटीबैंक, सिनोभस बैंक, बैंक अफ अमेरिका, जेपी मोर्गन र पीएनसी बैंकसहित पाँच अमेरिकी बैंकमार्फत कम्तीमा २६ करोड अमेरिकी डलर बराबरको कारोबार गरेको देखिएको छ । त्यसमध्ये केही रकमको खर्च विवरण स्पष्ट भए पनि थप ५ करोड ७० लाख अमेरिकी डलर विभिन्न कम्पनीमा पठाइएको र त्यसको गन्तव्यबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।

सन् २०२५ देखि प्रारम्भिक चरणमा रहेको यो अनुसन्धान आर्थिक अपराधसम्बन्धी विशेषज्ञ अमेरिकी सङ्घीय अभियोजकहरूको टोलीले अघि बढाइरहेको छ । यस क्रममा व्यवसायी गिलेर्मो तोफोनीको बयानसमेत लिइएको छ । अमेरिकी न्याय विभागले अर्जेन्टिनाका पूर्व सरकारी अधिकारीहरूसँग पनि बयान लिन सक्ने बताइएको छ । यो अनुसन्धानको आधार सन् २०२४ सेप्टेम्बरमा अर्जेन्टिनाको सुरक्षा मन्त्रालयले एएफएको शंकास्पद आर्थिक कारोबारबारे अमेरिकी निकायलाई दिएको सूचनालाई मानिएको छ । त्यसबेला पर्याप्त प्रमाण नभएको भन्दै आपराधिक अनुसन्धान सुरु नभए पनि सन् २०२६ को सुरुआतमा थप बैंकिङ कागजात र उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको हो ।

यता, एएफएका अध्यक्ष क्लाउडियो 'चिकी' तापिया भने विश्वकपमा सहभागी अर्जेन्टिनी टोलीसँग अमेरिकामै रहेका छन् । उनी आफ्नै देशमा सामाजिक सुरक्षा कोष र करसम्बन्धी रकम रोकेको आरोपमा चलिरहेको मुद्दामा धरौटी बुझाएर अदालतको अनुमति लिएपछि अमेरिका गएको बताइएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले हालसम्म यस विषयमा औपचारिक आरोप दर्ता गरेका छैनन् । अनुसन्धान प्रारम्भिक चरणमै रहेको र कसुर पुष्टि भइनसकेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै