काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा पुनः आक्रमण गरेको दाबी गरिएको छ । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबी का अनुसार कतारको तेल ट्यांकर अल-रकायतलाई निशाना बनाएर आक्रमण गरिएको हो ।
इरानले आफ्नो निर्देशनअनुसार तय गरिएको जलमार्ग प्रयोग नगरी व्यावसायिक जहाजहरू सञ्चालन भइरहेकाले त्यस्ता जहाजको सुरक्षाको ग्यारेन्टी दिन नसकिने चेतावनी दिएको छ । साथै अमेरिकी आक्रमणअघिको जस्तो अवस्था अझै कायम नभएको पनि इरानले जनाएको छ ।
यता, इरानका पूर्व सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको अन्तिम यात्रा मंगलबार शिया मुस्लिमहरूको धार्मिक सहर कोम पुगेको छ । अन्तिम श्रद्धाञ्जलिमा सहभागी लाखौं समर्थकले उनको शवमाथि रातो कपडा अर्पण गरेका छन् । इस्लामिक परम्परामा रातो कपडालाई प्रतिशोध वा रगतको बदलाको प्रतीक मानिन्छ ।
खामेनीको शवपेटिकामाथि धार्मिक विद्वानहरूले मात्रै लगाउने कालो पगडी राखिएको छ भने उनी राष्ट्रका सर्वोच्च नेता रहेकाले इरानको राष्ट्रिय झण्डासमेत ओढाइएको छ । खामेनीले प्रारम्भिक इस्लामिक शिक्षा कोममै हासिल गरेका थिए ।
यसैबीच, कतारले होरमुज जलडमरूमध्य नजिक आफ्नो तेल ट्यांकरमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ । कतारले उक्त घटनाका लागि इरानलाई पूर्ण रूपमा कानुनी रूपमा जिम्मेवार ठहर गरेको छ ।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले उक्त आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यसबाट विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको बताएका छन् । कतारले क्षेत्रीय सुरक्षा कमजोर बनाउने र अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा खतरा पुर्याउने सबै गतिविधि तत्काल बन्द गर्न इरानसँग आग्रह गरेको छ ।
उता, अमेरिकी समाचारमाध्यम एक्सियोसका अनुसार इरानी सेनाले होरमुज जलडमरूमध्य हुँदै गइरहेका दुईवटा व्यावसायिक जहाजमाथि कम्तीमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । तीमध्ये एउटा जहाज ओमानको तट नजिक क्षेप्यास्त्र लागेर क्षतिग्रस्त भएको जनाइएको छ भने अर्को जहाज पनि आक्रमणको चपेटामा परेको छ । दुवै जहाजमा ठूलो क्षति पुगेको भए पनि मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन ।









