काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम बिक्रम तिमोथी, काठमाडौं महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौं महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् ।
पक्राउ मध्ये टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रूपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रूपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रूपैयाँ, धन प्रसादले युएइ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टिकालाई काठमाडौं महानगरपालिका-२६ बाट, सरितालाई काठमाडौं महानगरपालिका-२८ बाट आइतबार तथा अग्रीम बिक्रमलाई टोखा नगरपालिका-६ बाट, दिपक चन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, धन प्रसाद र रूपालाई काठमाडौं महानगरपालिका-२६ बाट एवम् रमेशलाई काठमाडौं महानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।









