काठमाडौँ । संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ५ बजे बस्ने गरि संबैधानिक परिषदको बैठक बोलाइएको हो ।
बैठकमा संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने बताइएको छ ।
हाल निर्वाचन आयोगमा प्रमुख आयुक्तसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्य र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एक पद रिक्त रहेको छ । त्यस्तै थारू आयोग, मधेसी आयोग, राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोग र महिला आयोगमा पदहरु खाली रहेका छन् ।
बालेन्द्र शाह प्रधानमन्त्री भएदेखि बस्न लागेको संबैधानिक परिषदको यो दोस्रो बैठक हो । यस अघि बैशाख २४ गते बसेको पहिलो बैठकले प्रधानन्यायाधीश सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ । परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन । त्यस्तै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।
सरकारले अध्यादेशमार्फत यसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ ।









