• २०८३ असार १८ बिहीबार

विश्वकपको नकआउट चरणमा आजराती स्पेनलाई चुनौती दिदै अस्ट्रिया

विश्वकपको नकआउट चरणमा आजराती स्पेनलाई चुनौती दिदै अस्ट्रिया

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ चरणमा आज राति स्पेन र अस्ट्रिया आमने सामने हुदैछन् ।  लस एन्जलस रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२ : ४५ बजेदेखि शुरु हुदैछ । 

उत्कृष्ट लयमा रहेको स्पेन नकआउट यात्रा विजयी सुरुआत गर्ने लक्ष्यमा हुनेछ भने अस्ट्रिया बलियो चुनौती दिने तयारीमा छ ।

स्पेनले समूह चरणको अन्तिम खेलमा जुन २६ मा उरुग्वेलाई १-० ले पराजित गरेको थियो । उक्त खेलमा एलेक्स बाएनाले निर्णायक गोल गरेका थिए । स्पेन पछिल्ला १३ खेलमा अपराजित रहँदै विश्वकपको उपाधि दाबेदार टोलीका रूपमा अघि बढेको छ ।

यता, अस्ट्रियाले समूह चरणको अन्तिम खेलमा जुन २७ मा क्यान्सस सिटी रंगशालामा अल्जेरियासँग ३-३ को बराबरी खेलेको थियो । अस्ट्रियाका लागि मार्को अर्नाउटोभिच, मार्सेल साबिट्जर र सासा कालाज्दिचले एक-एक गोल गरेका थिए । सन् २०२६ मा अस्ट्रियाले ६ खेलमध्ये ४ मा जित, १ मा बराबरी र १ मा हार बेहोरेको छ ।

स्पेन समूह चरणमा ७ अंकसहित शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो । अस्ट्रियाले ४ अंकसहित दोस्रो स्थान कब्जा गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो ।

दुवै टोलीबीच पछिल्लोपटक सन् २००९ को नोभेम्बरमा भएको भेटमा स्पेन ५-१ ले विजयी भएको थियो । विश्वकपमा स्पेनका लागि मिकेल ओयार्जाबाल सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन् । उनले हालसम्म २ गोल गरेका छन् । अस्ट्रियाका मार्को अर्नाउटोभिचले पनि यस संस्करणमा २ गोल गरेका छन्, जसमा एक खेलको पहिलो गोलसमेत समावेश छ ।

स्पेनको सबैभन्दा बलियो पक्ष उसको रक्षापंक्ति बनेको छ । यस विश्वकपमा स्पेनले अहिलेसम्म कुनै पनि गोल खाएको छैन । पछिल्ला ६ खेलमा स्पेनले ३ जित र ३ बराबरी खेलेको छ । यो अवधिमा उसले ९ गोल गर्दा केवल २ गोल व्यहोरेको छ । ६ मध्ये ४ खेलमा स्पेनले पहिले गोल गरेको थियो भने उसका ७ गोल पहिलो हाफमै आएका छन् ।

अस्ट्रियाले पछिल्ला ६ खेलमध्ये ४ मा जित, १ मा बराबरी र १ मा हार बेहोरेको छ । यस अवधिमा उसले १३ गोल गर्दा ७ गोल खाएको छ । ६ मध्ये ५ खेलमा उसैले पहिले गोल गरेको थियो । उसका ३ गोल पहिलो हाफमा आएका छन् भने विपक्षीले पहिलो हाफमा २ गोल गरेका थिए ।

स्पेनको अपराजित यात्रा र मजबुत रक्षापंक्तिलाई हेर्दा उसलाई यो खेलको प्रबल दाबेदार मानिएको छ । यद्यपि, आक्रामक प्रदर्शन गर्दै आएको अस्ट्रियाले स्पेनलाई कडा प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै