काठमाडौं । जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम ३२ को खेलमा आज राति इङल्याण्डले अफ्रिकी टोली डिआर कङ्गोको सामना गर्दैछ । एटलान्टास्थित स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ९: ४५ बजेदेखि शुरु हुदैछ ।
समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा पुगेको इङल्याण्डले अन्तिम खेलमा पनामालाई २-० ले हराएको थियो । तर उक्त जित अपेक्षाकृत सहज भने रहेन । खेलको एक घण्टाभन्दा बढी समयसम्म गोल गर्न संघर्ष गरेको इङल्याण्डका लागि जुड बेलिङ्घमले कर्नरबाट आएको बललाई उत्कृष्ट रूपमा सदुपयोग गर्दै अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि कप्तान ह्यारी केनले दोस्रो गोल गर्दै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक ११ गोल गर्ने कीर्तिमान बनाए ।
त्यसअघि घानासँग गोलरहित बराबरी खेलेपछि समर्थकहरू इङल्याण्डको प्रदर्शनप्रति असन्तुष्ट देखिएका थिए । उक्त खेलमा इङल्याण्डले करिब ७९ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखे पनि जित निकाल्न सकेन । समूह चरणभर कुनै पनि टोलीले यति धेरै समय बल नियन्त्रणमा राखेर पनि जित निकाल्न नसकेको तथ्यांक छैन ।
अब कङ्गो लोकतान्त्रिक गणराज्यले पनि इङल्याण्डलाई त्यस्तै दबाबमा राख्ने लक्ष्य लिएको छ । समूह चरणमा यस टोलीको औसत बल नियन्त्रण ३८.५ प्रतिशत मात्र थियो, जबकि इङल्याण्डको औसत ६५.३ प्रतिशत रहेको थियो । त्यसैले कङ्गोले प्रतिआक्रमण र रक्षात्मक रणनीतिमा भर पर्ने सम्भावना छ ।
मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङल्याण्डले अहिलेसम्म खेलेका ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन । यस अवधिमा उसले १० खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । इङल्याण्डको इतिहासमा प्रशिक्षक रोन ग्रिनउड र रोय हज्सनपछि सुरुआती अवधिमा सबैभन्दा लामो अपराजित यात्रा गर्ने प्रशिक्षक टुचेल बनेका छन् ।
तर टुचेलले सम्भावित अर्को प्रतिद्वन्द्वीबारे सोच्न नहुने स्पष्ट पारेका छन् । कङ्गोलाई पराजित गरेपछि सह-आयोजक मेक्सिकोसँग भेट हुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले अहिले सम्पूर्ण ध्यान यही खेलमा केन्द्रित रहेको बताए । उनका अनुसार टोलीले अहिलेको चुनौती पार नगरी अर्को चरणको चर्चा गर्नु गल्ती हुनेछ ।
यता कङ्गो लोकतान्त्रिक गणराज्यले भने इतिहास रचेको छ। समूह ‘के’ को अन्तिम खेलमा उज्बेकिस्तानविरुद्ध करिब एक घण्टासम्म पछि परेको टोलीले उत्कृष्ट पुनरागमन गर्दै ३-१ को जित निकालेको थियो । यो जितसँगै कङ्गो पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।
उक्त खेलमा योआने विस्साले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए भने फिस्टोन मायेलेको गोलपछि उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको ऐतिहासिक जित सुनिश्चित गरेका थिए। यस विश्वकपमा कङ्गोले गरेका चार गोलमध्ये तीन गोल विस्साकै नाममा छन्। क्लब फुटबलमा पूरा सिजनमा गरेको गोलसंख्या उनले विश्वकपका केही खेलमै बराबरी गरिसकेका छन् ।
मुख्य प्रशिक्षक सेबास्टियन देसाब्रले यस खेलमा अनुभवी स्ट्राइकर सेड्रिक बाकाम्बुलाई निरन्तरता दिने वा पछिल्लो खेलमा प्रभावशाली प्रदर्शन गरेका मायेलेलाई सुरुआती टोलीमा अवसर दिने भन्ने निर्णय गर्न बाँकी छ ।
इङल्याण्डका लागि कप्तान केन फेरि एकपटक मुख्य आशा रहनेछन् । समूह चरणमै तीन गोल गरिसकेका उनले विश्वकपमा इङल्याण्डका सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान बनाएका छन् । यदि उनले कङ्गोविरुद्ध पनि गोल गरे भने विश्वकपको नकआउट चरणमा इङल्याण्डका लागि चार गोल गर्ने जियोफ हर्स्टको कीर्तिमान बराबरी गर्नेछन् । यस सूचीमा ग्यारी लिनेकरको नाममा सबैभन्दा बढी छ गोल छ । मध्यपङ्क्तिमा डेक्लान राइस पिन्डुलाको सामान्य समस्याबाट निको हुँदै सुरुआती टोलीमा फर्कने अपेक्षा गरिएको छ । अर्कोतर्फ इलियट एन्डरसनले भने समूह चरणभर उत्कृष्ट प्रभाव छोडेका छन् । उनले बल खोसेको संख्या, विपक्षीको रक्षापङ्क्ति चिर्ने पास तथा व्यक्तिगत प्रतिस्पर्धामा जितेका अवसरका आधारमा इङल्याण्डका सबै खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेका छन् । रक्षापङ्क्तिमा भने जारेल क्वान्साको चोटका कारण अनुपस्थित हुने सम्भावना छ । यसअघि नै रिस जेम्स पनि चोटका कारण बाहिर रहेकाले दायाँ रक्षकको भूमिकामा डिजेड स्पेन्स वा एज्री कोन्सामध्ये एकले अवसर पाउने अनुमान गरिएको छ ।
इङल्याण्ड र कङ्गो लोकतान्त्रिक गणराज्यबीच कुनै पनि प्रतियोगितामा यो पहिलो भेट हुनेछ । विश्वकप इतिहासमा इङल्याण्डले एउटै संस्करणमा दुई अफ्रिकी टोलीसँग दोस्रो पटक खेल्न लागेको हो । सन् १९९० मा उसले समूह चरणमा इजिप्टलाई हराएको थियो भने क्वार्टरफाइनलमा क्यामरुनलाई पराजित गरेको थियो । नकआउट चरणमा अफ्रिकी टोलीविरुद्ध इंग्ल्यान्डको पछिल्लो खेल सन् २०२२ मा सेनेगलसँग भएको थियो, जहाँ इङल्याण्ड ३-० ले विजयी भएको थियो ।
यद्यपि टुचेलको प्रशिक्षणकालमा इङल्याण्डले जित निकाल्न नसकेका खेलमध्ये आधा अफ्रिकी टोलीविरुद्ध परेका छन् । घानासँग बराबरी खेलेको इङल्याण्ड सन् २०२५ को मैत्रीपूर्ण खेलमा सेनेगलसँग ३-१ ले पराजित भएको थियो । त्यसैले इतिहास, वर्तमान लय र बलियो टोली भए पनि इङल्याण्डले कङ्गोलाई कुनै पनि हालतमा कमजोर आँक्ने अवस्थामा देखिदैन ।









