• २०८३ असार १६ मंगलबार

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्यमा मनोनित

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्यमा मनोनित

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषको इतिहास र गरिमालाई मध्यनजर गर्दै सरकारले विख्यात ३ जना व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ ।  संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कोषको ऐनमा भएको प्रबधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन् । 

संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर,  विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा. एरिक डाइनर्स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गरेकी हुन् । 

कोषको सञ्चालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूको व्यक्तिगत प्रोफाइल वैश्विक स्तरमै निकै वजनदार रहेको छ । तीमध्ये लर्ड क्यामोस विलियम स्टोनर र इरिक डाइर्नस्टन नेपालको संरक्षण इतिहाससँग जोडिएका व्यक्तित्व हुन् । बेलायतको 'यूके नेपाल ट्रस्ट' का अध्यक्ष समेत रहेका ८ औँ ब्यारोन क्यामोस (विलियम स्टोनर)को परिवार नेपालको राजनीतिक र कूटनीतिक इतिहाससँग पुरानो र ऐतिहासिक सम्बन्ध छ । लर्ड क्यामोसको परिवार नेपालको संरक्षणमा विगतदेखि नै जोडिँदै आएको हो । उनले अहिले पनि ब्रिटिश परोपकारी माध्यमबाट नेपालको जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्‍याइरहेका छन् । 

त्यस्तै, सन् १९७०/८० को दशकमा चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्घे गैँडा र पाटेबाघको रैथाने आहारविहारबारे प्रारम्भिक र ऐतिहासिक अनुसन्धानमा गर्ने वैज्ञानिकहरूमध्येमा डा.एरिक डाइनरस्टाइन पनि पर्दछन् ।  उनी विश्व वन्यजन्तु कोषमा २५ वर्ष मुख्य वैज्ञानिकका रूपमा नेतृत्व गर्दै 'तराई आर्क ल्यान्डस्केप' को अवधारणा कोरेका थिए । अस्ट्रेलियाको फेडरेसन युनिभर्सिटीकी डिन रहेकी प्रा.डा विन्डी राइटले विगत एक दशकदेखि नेपालमा सालक संरक्षण,मध्यवर्ती क्षेत्र व्यवस्थापन तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा अस्ट्रेलियन विद्यार्थीहरूलाई समेटेर निरन्तर स्थलगत प्राज्ञिक सहकार्य गर्दै आएकी छन् ।

विश्वविख्यात वैज्ञानिक, प्राज्ञिक, व्यवसायिक, युवा र कूटनीतिक व्यक्तित्वहरूलाई कोषको सदस्यमा मनोनित गरेर नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग जोड्न नयाँ गति प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय समुदायको जीविकोपार्जन सुधार, वैज्ञानिक वन्यजन्तु व्यवस्थापन र जलवायु परिवर्तनका चुनौतीहरूसँग लड्न यो उच्च-स्तरीय समितिले दूरगामी नीतिगत जग बसाल्ने विश्वास संरक्षणविद्हरूले लिएका छन् ।

विगत चार दशकभन्दा लामो गौरवशाली इतिहास बोकेको कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधताको क्षेत्रमा विश्वमै उदाहरणीय काम गरेको छ । संस्थामा मनोनित गरिएका व्यक्तित्वहरूले कोषको नीतिगत र नैतिक उन्नयनमा ठूलो रणनीतिक फड्को मार्ने अपेक्षा गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै