• २०८३ असार १६ मंगलबार

प्रतिबन्धको असर, एनभिडियालाई चीनको बजारमा धक्का

प्रतिबन्धको असर, एनभिडियालाई चीनको बजारमा धक्का

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता र अत्याधुनिक प्रविधिमा विश्व नेतृत्वका लागि अमेरिका र चीनबीचको प्रतिस्पर्धा नयाँ चरणमा पुगेको छ ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले चीनमाथि लगाएका प्रविधिसम्बन्धी प्रतिबन्धले अहिले अमेरिकी चिप निर्माता एनभिडियालाई नै ठूलो धक्का दिएको छ । चीनको कृत्रिम बुद्धिमत्ता चिप बजारमा एनभिडियाको वर्चस्व घट्दै गएको छ भने त्यसको स्थान चिनियाँ कम्पनी हुवावेले लिन थालेको छ ।

कुनै समय चीनको कृत्रिम बुद्धिमत्ता चिप बजारमा करिब ९५ प्रतिशत हिस्सा एनभिडियाको रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले पनि अमेरिकी निर्यात प्रतिबन्धअघि चीनमा कम्पनीको लगभग एकछत्र उपस्थिति रहेको स्वीकार गरेका छन् । तर प्रतिबन्ध लागू भएपछि बजारको अवस्था तीव्र रूपमा बदलिएको छ । विश्वव्यापी अनुसन्धान संस्था बर्नस्टिनको प्रतिवेदनअनुसार सन् २०२५ मा चीनको कृत्रिम बुद्धिमत्ता चिप बजारमा एनभिडियाको हिस्सा करिब ४० प्रतिशतमा झरेको थियो, जुन हुवावेको बराबरीको अवस्थामा पुगेको थियो । यस वर्ष भने एनभिडियाको बजार हिस्सा घटेर करिब आठ प्रतिशतमा सीमित हुने र हुवावेको हिस्सा करिब ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाले सन् २०१९ मा हुवावे र त्यसपछि चीनलाई उच्च क्षमताका कम्प्युटर चिप खरिदमा प्रतिबन्ध लगाएपछि चिनियाँ कम्पनीहरूले स्वदेशमै प्रविधि विकासलाई तीव्रता दिएका थिए । त्यसको प्रत्यक्ष लाभ हुवावेले उठाएको विश्लेषण गरिएको छ ।

हुवावेको ‘एसेन्ड ९५०’ सिरिजको कृत्रिम बुद्धिमत्ता चिपलाई एनभिडियाको शक्तिशाली ‘एच-२००’ चिपसँग प्रतिस्पर्धी मानिएको छ । त्यसैगरी चीनको तीव्र रूपमा अघि बढिरहेको कृत्रिम बुद्धिमत्ता कम्पनी ‘डिपसिक’ले आफ्नो ‘भी–४’ मोडेल पनि हुवावेका चिपलाई ध्यानमा राखेर विकास गरेको छ ।

विश्लेषकहरूका अनुसार एनभिडियाले चीनमा आफ्नो अग्रता गुमाइसकेको छ र अहिले घरेलु कम्पनी हुवावे नै बजारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ ।

यद्यपि चीनले ठूलो प्रगति गरे पनि अत्याधुनिक अर्धचालक उद्योग अझै विश्वव्यापी आपूर्ति शृंखलामा निर्भर छ । उन्नत कृत्रिम बुद्धिमत्ता चिप उत्पादनका लागि आवश्यक उपकरण र प्रविधि कुनै एक देशसँग मात्र उपलब्ध छैन। चीनलाई अझै पनि केही ठूला कृत्रिम बुद्धिमत्ता प्रणालीको प्रशिक्षणका लागि एनभिडियाका चिप आवश्यक पर्ने अवस्था रहेको बताइएको छ ।

एनभिडियाले आफ्ना चिप उत्पादनका लागि नेदरल्यान्ड्सको एएसएमएल कम्पनीका अत्याधुनिक उपकरण र ताइवानको टीएसएमसी कम्पनीको उत्पादन क्षमतामा भर पर्छ। अमेरिकाले चीनलाई एएसएमएलका ती उपकरण बिक्री गर्न रोक लगाएको छ। प्रतिबन्धको दायराभित्र रहेर एनभिडियाले चीनका लागि कम क्षमताको ‘एच-२०’ चिप बिक्री गर्ने प्रयास गरे पनि त्यसको माग निरन्तर घटिरहेको छ भने उच्च क्षमताको ‘एच-२००’ चिपबाट चीनमा हालसम्म कुनै आम्दानी हुन सकेको छैन।

विशेषज्ञहरूका अनुसार अमेरिकी निर्यात नियन्त्रणले अनपेक्षित रूपमा चीनको स्वदेशी चिप उद्योगलाई अझ बलियो बनाएको छ। अहिले चीन आफ्नै प्रविधि र उत्पादन क्षमतामाथि बढी विश्वास गर्न थालेको छ। विश्व बजारमा एनभिडियाको वार्षिक आम्दानी अझै हुवावेभन्दा धेरै भए पनि चीनको विशाल बजारमा आफ्नो पुरानो स्थान फर्काउनु कम्पनीका लागि कठिन बन्दै गएको विश्लेषण गरिएको छ। आगामी वर्षहरूमा हुवावेले चीनसँगै दक्षिण–पूर्वी एसियालगायत अन्तर्राष्ट्रिय बजारमा पनि कृत्रिम बुद्धिमत्ता चिप आपूर्तिको प्रमुख प्रतिस्पर्धी बन्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै