काठमाडौँ । कृत्रिम बुद्धिमत्ति (एआई) ले मानिसको रोजगारी खोस्ने चर्चा विश्वभर चलिरहेका बेला अमेरिकी मोटर निर्माता कम्पनी फोर्डले भने फेरि अनुभवी कर्मचारीलाई काममा फर्काउन थालेको छ ।
एआईमा आधारित गुणस्तर परीक्षण प्रणालीले अपेक्षित नतिजा दिन नसकेपछि कम्पनीले इन्जिनियर र गुणस्तर निरीक्षकलाई पुनः नियुक्त गर्न थालेको हो ।
ब्लुमबर्गको एक रिपोर्टका अनुसार फोर्डले पछिल्ला तीन वर्षमा करिब ३५० जना अनुभवी इन्जिनियर तथा गुणस्तर निरीक्षकलाई पुनः काममा लगाएको छ । तीमध्ये केही कम्पनीका पूर्वकर्मी छन् भने केही आपूर्तिकर्ता कम्पनीका विज्ञ हुन् । फोर्डले सवारीसाधनको गुणस्तर परीक्षणका लागि एआईमा आधारित स्वचालित प्रणाली प्रयोग गरेको थियो । तर त्यसबाट अपेक्षाअनुसारको नतिजा प्राप्त हुन सकेन । त्यसपछि अनुभवी कर्मचारीलाई पुनः जिम्मेवारी दिइएपछि कम्पनीले उल्लेखनीय सुधार देखेको जनाएको छ ।
मानव जनशक्ति फर्किएपछि फोर्डको उत्पादन गुणस्तरमा सुधार आएको छ । हालै सार्वजनिक भएको ‘जेडी पावर प्रारम्भिक गुणस्तर सर्वेक्षण’ मा फोर्ड मुख्यधाराका सवारी ब्रान्डमध्ये पहिलो स्थानमा पुगेको छ । साथै परीक्षणमा हुने त्रुटि घटेकाले अनावश्यक खर्चसमेत कम भएको कम्पनीको भनाइ छ ।
यो समस्या फोर्डमा मात्र सीमित छैन । अमेजन, माइक्रोसफ्ट र उबरजस्ता ठूला कम्पनीले पनि एआईमा ठूलो लगानी गरे पनि अपेक्षित प्रतिफल प्राप्त गर्न नसकेको बताइन्छ । उबरले एआईमा ठूलो रकम खर्च गरे पनि त्यसअनुसारको उपलब्धि हासिल गर्न सकेन । माइक्रोसफ्टले पनि बढ्दो खर्चलाई ध्यानमा राख्दै आफ्ना कर्मचारीलाई एआईको सीमित र आवश्यक प्रयोग गर्न सुझाव दिएको छ ।
यसले एआईको युग समाप्त हुँदै गएको भन्ने अर्थ भने होइन । एआई अझै पनि प्रभावकारी प्रविधि हो, तर यसको सफलताका लागि सही ढंगले प्रयोग गर्नु आवश्यक रहेको विज्ञहरू बताउछन् ।
फोर्डका उपाध्यक्ष चार्ल्स पूनका अनुसार कम्पनीले एआई प्रणाली जडान गरेपछि स्वतः उत्कृष्ट गुणस्तरको उत्पादन प्राप्त हुन्छ भन्ने गलत अनुमान गरेको थियो । उनका अनुसार एआई उपयोगी साधन भए पनि त्यसले कति राम्रो काम गर्छ भन्ने कुरा त्यसलाई दिइने जानकारी र प्रशिक्षणको गुणस्तरमा निर्भर हुन्छ ।
विशेषज्ञहरूका अनुसार एआईलाई सहयोगी प्रविधिका रूपमा प्रयोग गर्दा यसको वास्तविक लाभ लिन सकिन्छ । यसले कामलाई छिटो, सहज र प्रभावकारी बनाउन सक्छ, तर मानव अनुभव, निर्णय क्षमता र निगरानीलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन ।









