• २०८३ असार ८ सोमबार

ट्रम्पको निर्देशनमा काम गर्दिन- नेतन्याहु

ट्रम्पको निर्देशनमा काम गर्दिन- नेतन्याहु

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम नगर्ने बताएका छन् ।

जेरुसेलममा आयोजित एक सम्मेलनमा बोल्दै उनले अमेरिका र इजरायलबीच घनिष्ठ सम्बन्ध रहे पनि दुवै देशका आफ्ना-आफ्नै राष्ट्रिय हित रहेको र सबै विषयमा समान धारणा नहुने स्पष्ट पर्दै आफुले ट्रम्पको इशारा अनुसार काम नगरेको बताएका हुन् ।

उनले अमेरिका र इजरायल दुवै देशमा आफ्नो र ट्रम्पको सम्बन्धबारे गलत बुझाइ रहेको बताए । उनले भने- 'अमेरिकामा केही मानिसहरू ट्रम्पले मैले भनेअनुसार काम गर्छन् भन्छन् भने इजरायलमा केहीले म ट्रम्पले चाहेजस्तै काम गर्छु भन्ने ठान्छन् । यी दुवै कुरा गलत हुन् ।'

नेतन्याहुले इजरायलले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने दोहोर्‍याए । यस विषयमा आफ्नो सरकारले कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । उनले आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहने पनि बताए । इजरायली नागरिकको सुरक्षाका लागि त्यहाँ सैन्य उपस्थिति आवश्यक रहेको उनको दाबी छ ।

यसैबीच, स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच जारी वार्ता दोस्रो दिनमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका कडा अभिव्यक्तिका कारण पहिलो दिनको वार्ता तनावपूर्ण बनेको बताइएको छ ।

नेतन्याहुले ट्रम्पसँग केही विषयमा मतभेद रहेको स्वीकार गरे पनि कुन विषयमा असहमति छ भन्नेबारे खुलाएनन् । उनले भने- 'हामी दुवै स्वतन्त्र र गर्विला राष्ट्रका नेता हौं । धेरै विषयमा हाम्रो सोच मिल्छ, तर केही विषयमा मतभेद पनि छन् ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै