काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुदैछ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने तथा 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै अध्यादेशसम्बन्धी कार्य अन्तर्गत सांसद खडक बहादुर बुढाले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्' भनी राखेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सांसद नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी राखेको प्रस्तवालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी सांसद आरेन राईले 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्' भनी राखेको प्रस्तवालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । त्यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै कृपाराम रानाले 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस्' भनी राखेको प्रस्तवालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले 'स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।









